काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । जितका लागि इङ्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । कप्तान रोहित पौडेलले ३९ रन बनाए । ओपनर कुशल भुर्तेलले २९ रनको उत्कृष्ट पारि खेले भने अर्का ओपनर आशिफ शेखले ७ रन मात्रै बनाउन सके । मध्यक्रमका ब्याटर आरिफ शेखले १० रनको योगदान दिए । लोकेश बमले ३९ रन बनाए भने गुल्सन झाले १ रन मात्रै बनाउन सके । करण केसीले १ रन थपे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । भारतको मुम्बईस्थित वानखडे स्टेडियममा भएको खेलमा नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए । शेर मल्ल र सन्दीप लामिछानेले समान १–१ विकेट लिए ।
नेपालले यसअघि सन् २०१४ बंगलादेशमा र सन् २०२४ मा अमेरिकामा भएको विश्वकपमा सहभागिता जनाएको थियो । दुवै पटकको विश्वकपमा नेपालले समूह चरण पार गर्न सकेको थिएन ।
नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने छन् । विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छन् ।