२७ माघ २०८२, मंगलवार
Follow Us

रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक

नेपालब्रिटेन संवाददाता
२७ माघ २०८२, मंगलवार ०६:०१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आज मंगलबार पश्चिम नवलपरासीमा हुने भनिएका चुनावलक्षित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले रोक लगाएको छ ।

सोमबार दिनभर रुपन्देहीको चुनावी कार्यक्रममा सहभागी भएका लामिछानेको मंगलबारको कार्यक्रममा भने नवलपरासी प्रशासनले रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी ‘निर्वाचन आचारसंहिता विपरीत’ कार्यक्रम नगर्न भन्दै रोक लगाएको हो ।

पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषन राज भण्डारीले जारी गरेको सूचनामा लेखिएको छ, ‘मिति २०८२ साल माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता २०८२ आकर्षित हुने गरी निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

सोमबार रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा सम्बोधनसहितका चुनावी कार्यक्रममा सहभागी भएका लामिछाने मंगलबार नवलपरासी जाने तयारीअनुसार कार्यक्रम तय भएको थियो ।

लामिछाने माघ २७ गते जिल्लाका विभिन्न ठाउँमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने समय तय गरिए पनि प्रशासनले सूचना जारी गरी निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै कार्यक्रममा रोक लगाएको छ ।

धेरै पढिएको