प्रतिनिधि दर्ता १४ तारिखसम्म
गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीको दशौँ बैठक मिति २०८२ साल माघ २४ गते (तदनुसार ७ फेब्रुअरी २०२६), शनिबार सम्पन्न भएको छ। महासचिव गौरीराज जोशीद्वारा सञ्चालन गरिएको उक्त बैठकमा संघका समसामयिक विषय, आगामी १२औँ महाधिवेशनको तयारी तथा संगठनात्मक व्यवस्थापनका विषयमा विस्तृत छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरिएको छ।
बैठकमा सदस्यता, डेलिगेट तथा मेम्बरशिप शुल्क सम्बन्धी विषयमा छलफलपछि हाल Membership Registration System (MRS) मा विद्यमान पंजीकृत सदस्यहरू, High Level Committee (HLC) बाट प्राप्त पंजीकृत सदस्यहरू तथा समान्तर एनसीसीहरूबाट प्राप्त पंजीकृत सदस्यहरूको संख्यालाई सांख्यिकीकरण (Quantification) गर्ने निर्णय गरिएको छ। साथै, सम्पूर्ण पंजीकृत सदस्यहरूको इमेल वा फोन नम्बर अद्यावधिक गर्नुपर्ने, सांख्यिकीकरण भएका सदस्यहरूलाई सम्बन्धित एनसीसी तथा बृहत् एकतामा समाहित दुवै कार्य समितिबाट प्रमाणीकरण गर्नुपर्ने र ती सदस्यहरूले विधानअनुसार सदस्यता शुल्क बुझाएको हुनुपर्ने निर्णय गरिएको छ।
अक्टोबर २०२५ मा तय भएको १२औँ महाधिवेशनका लागि डेलिगेट आवेदन गरिसकेका आवेदकहरूलाई पुनः सहमतिका लागि इमेलमार्फत जानकारी गराइने भएको छ। यसअघि प्राप्त आवेदनहरूमध्ये तोकिएको समयभित्र असहमति नआएका प्रतिनिधिहरूको आवेदन पुनः प्रमाणीकरण (Re-verify / Re-certify) गरिनेछ। नयाँ आवेदकका लागि भने नेपाली समयअनुसार १३ तारिख राति १२ बजेसम्म आवेदन खुला रहने निर्णय गरिएको छ।
डेलिगेट सम्बन्धमा दुवै पक्षबाट संख्यात्मक अनुमोदन गर्नुपर्ने वा सदस्यहरूको गैरआवासीय हैसियत प्रमाणित गर्ने आवश्यक कागजात पेश गर्नुपर्ने बैठकले निर्णय गरेको छ। साथै, अन्तिम डेलिगेट सूची १४ फेब्रुअरीभित्र सम्बन्धित एनसीसीहरूले पठाइसक्नुपर्नेछ। यसैगरी, MRS प्रणालीमा स्टेरिङ कमिटीका सबै सदस्यलाई ‘Read Only’ पहुँच प्रदान गरिने भएको छ।
निर्वाचन प्रक्रिया तथा कार्यविधि सम्बन्धी छलफलपछि निर्वाचन डेलिगेट, निर्वाचन प्रक्रिया तथा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षता सुनिश्चित गर्न आवश्यक कार्यविधि तयार गर्ने निर्णय गरिएको छ।
बैठकले गैरआवासीय नेपाली संघका दुवै पक्षको आर्थिक पक्षलाई पारदर्शी र विश्वसनीय बनाउन स्वतन्त्र तृतीय पक्षमार्फत अडिट गराउने निर्णय गरेको छ। उक्त अडिट प्रक्रियाको संयोजन पूर्व अध्यक्ष आर.के. शर्माले गर्ने सहमति भएको छ।
प्रमुख निर्वाचन आयुक्तसहित निर्वाचन समितिका सदस्यहरूको नियुक्ति सम्बन्धमा छलफल गर्दै बैठकले सम्बन्धित पदाधिकारीहरूलाई औपचारिक नियुक्तिपत्र पठाउने निर्णय गरेको छ।
यसैबीच, अर्को बैठकअघि निर्वाचन तथा संगठनात्मक कार्यविधि सम्बन्धी आवश्यक छलफल अघि बढाउने निर्णय गरिएको छ। साथै, विधान संशोधन तथा सबै सदस्यलाई मतदान अधिकार दिने विषयमा आगामी १२औँ महाधिवेशनमा संकल्प प्रस्ताव अघि बढाउने विषयमा समेत बैठकमा सहमति भएको जनाइएको छ।