२२ फाल्गुन २०८२, शुक्रबार
Follow Us

५ बुँदे प्रतिबद्धतासहित एनआरएनए एसिया–प्यासिफिक क्षेत्रीय संयोजकमा दीपक कंडेलको उम्मेदवारी

नेपालब्रिटेन संवाददाता
१ फाल्गुन २०८२, शुक्रबार १५:०६

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया–प्यासिफिक क्षेत्रीय संयोजक पदका लागि जापानस्थित व्यवसायी दीपक प्रसाद कंडेलले उम्मेदवारी घोषणा गरेका छन्।

आगामी मार्च महिनामा हुने १२औँ महाधिवेशनलाई लक्षित गर्दै उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। कंडेल हाल सो क्षेत्रका वर्तमान संयोजकसमेत हुन्। उम्मेदवारीसँगै उनले पाँच बुँदे प्रतिबद्धता पनि सार्वजनिक गरेका छन्।


५ बुँदे प्रतिबद्धता

एसिया–प्यासिफिक क्षेत्रीय संयोजक पदका लागि उम्मेदवारी प्रस्तुत गर्ने निर्णय गरेको जानकारी गराउँदै कंडेलले विदेशमा रहेर नेपाल र नेपालीको पहिचान, अधिकार, अवसर तथा हित संरक्षणका लागि निरन्तर साथ दिँदै आएका सम्पूर्ण सहयोगी, शुभेच्छुक र समुदायप्रति आभार व्यक्त गरेका छन्। यो जिम्मेवारीले समुदायलाई अझ नजिक ल्याउने विश्वास उनले व्यक्त गरेका छन्।

उनका अनुसार एसिया–प्यासिफिक क्षेत्र विश्वभरका नेपालीहरूको सबैभन्दा सक्रिय, ठूलो र सम्भावनाले भरिएको क्षेत्र हो। यहाँ रहेका नेपालीका समस्या पहिचान, समाधान, अवसर विस्तार तथा संस्थागत समन्वयलाई थप प्रभावकारी बनाउन आफ्नो अनुभव, ऊर्जा र प्रतिबद्धता उपयोगी हुनेमा उनी विश्वस्त छन्।

अवसर प्राप्त भएमा उनका प्राथमिकताहरू यस्ता रहनेछन्:

१ ज्ञयुवामैत्री एनआरएनए — युवा सहभागिता, नेतृत्व विकास र अवसर विस्तारमा विशेष जोड दिँदै विदेशमा हुर्कँदै गरेका दोस्रो पुस्तालाई नेपालसँग जोड्न विशेष कार्ययोजना ल्याउने।

२ सीप, रोजगारी र व्यवसायिक साझेदारी — नेपाल र एसिया–प्यासिफिक क्षेत्रबीच आर्थिक तथा उद्यमशीलता सम्बन्ध सुदृढ गर्दै दुवैतर्फ लाभदायी साझेदारीको पुल निर्माण गर्ने।

३ समुदाय एकता तथा पारदर्शिता — सशक्त, पारदर्शी र सबैलाई समेट्ने एनआरएनए निर्माण गर्दै संस्थागत सुशासनलाई प्राथमिकता दिने।

४ आपत्कालीन सहायता संयोजन — संकटका बेला समुदायका नेपालीलाई छिटो राहत, समन्वय र सहजीकरण उपलब्ध गराउने प्रभावकारी संयन्त्र विकास गर्ने।

५ नेपाल–एसिया प्यासिफिक सम्बन्ध सुदृढीकरण — सांस्कृतिक, शैक्षिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउँदै दुवै क्षेत्रबीच सहकार्य विस्तार गर्ने।

माथिका अभियानहरू सफलतापूर्वक अघि बढाउन समुदायको निरन्तर मार्गदर्शन, सुझाव र समर्थनको अपेक्षा गरेको उनले उल्लेख गरेका छन्।

“समाज, संस्था र नेपालप्रतिको प्रतिबद्धता नै मेरो प्रेरणा हो,” कंडेलले भनेका छन्।

दीपक प्रसाद कंडेल

धेरै पढिएको