गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष डा. हेमराज शर्माले शर्माले कोभिडको बेला साउदीलगायत मध्यपूर्वका देशमा रहेका नेपालीका लागि युएनको श्रम संगठन आइएलओसँग मिलेर काम गरेको र आफै पैसा उठाएर सहकार्य गरेको स्मरण गरे । फुटको अवस्थामा रहेको एनआरएनएलाई दुइटा अध्यक्ष सहमति गरेर एकढिक्का बनाएको र बृहत एकताको महाधिवेशन मार्च १४ देखि १६ मा हुन लागेको जानकारी गराए ।
डा. शर्माले एनआरएनएका सदस्यको समस्या सुन्न आएको बताए । ‘फिल्डमा आएर तपाइहरुको कुरा सुनौ समस्या बुझौ ताकि भोलि कार्यान्वयन गर्न योजना बनाउन सकौ भनेर हो,’ उनले भने ।
शर्माले हरेक देशका समस्या समेटेर श्वेतपत्र तयार गर्न खोजेको भन्दै सहयोग गर्न अनुरोध गरे । ‘हामीले यहाँको समस्याको बारेमा श्वेतपत्र तयारी गर्न खोज्दैछौं । समस्या के हो भनेर भनिराख्न नपरोस् । सुनाइराख्न नपरोस् । लेखेर राख्नुभयो भने अन्तर्राष्ट्रिय संघसंस्थालाई देखाउन सकियोस् । सरकारलाई देखाउन सकियोस् । लिखित नभएपछि बिर्सिन्छ । हरेक देशको समस्या लिपिबद्ध गरेर श्वेतपत्र तयार गर्छौं । निर्वाचित भएको एक डेढ महिनाभित्र गर्छौं । यहाँहरुले सहयोग गर्नुस्,’ उनले भने ।
संस्थालाई बलियो बनाउन वैकल्पिक स्रोत चाहिने तर नेपालको मजदुर कल्याण कोषमा अर्बौ पैसा रहेको तर त्यो पैसा नियम कानुन ट्रान्सफरको हिसाबले कामदार रहेको देशमा प्रयोग गर्न नसकिएको भन्दै यसलाई वैकल्पिक स्रोत बनाउनुपर्ने उनको भनाइ थियो । यसबाहेक अन्तर्राष्ट्रिय संघसंस्थासँग सहकार्य गर्नुपर्ने र भित्रै भएको आन्तरिक स्रोतलाई पनि व्यवस्थित गर्नुपर्ने बताए । अनलाइनबाट क्राउड फण्डिङको विकल्प पनि उनले सुझाए । कसैलाई केही समस्या पर्यो भने पैसा सजिलै उठ्ने र यसका लागि एनआरएनए एपमार्फत सहयोग गर्न सकिने बताए ।
आफूहरुको कार्यकालमा ट्वाइलेट बनाउने र रङ बनाउने काम गर्नुभन्दा नेपाली श्रमिकको समस्यामा खर्च गर्ने प्रतिबद्धता उनले जनाए । सुरक्षित मर्यादित रोजगारीका लागि सरकारी र बाह्य कोषलाई परिचालन गर्नुपर्ने र नभए आन्तरिक स्रोत परिचालनको योजना सुनाए ।
प्रविधिको युगमा प्रवासी नेपालीलाई मतदानको अधिकार नदिनु राजनीति इच्छाशक्तिकै कमी भएको बताए । आगामी चुनावमा मतदान सुनिश्चित गर्नेगरी आवाज उठाउनुपर्ने उनले बताए ।
यसैगरी साउदी आउँदाका समस्या के छ, कानुनी प्रावधान कस्ता छन्, समस्यामा परे कहाँ सम्पर्क गर्ने भनेर ओरियन्टेसन कार्यक्रम गर्नुपर्ने बताए । यसका लागि गैरआवासीय नेपाली संघको भवन प्रयोग गर्न सकिने र साउदीका पदाधिकारीले भर्चुअल माध्यमबाट ओरियन्टेसन दिन सक्ने बताए । यो कुरा आफूले प्रभावकारी रुपमा अगाडि बढाउने उनको भनाइ छ ।
सामाजिक सुरक्षामा निरन्तरताका लागि सचेतना जगाउने योजना उनले सुनाए ।
ठूलो लगानीकर्ताका साथै साना लगानीकर्तालाई पनि प्राथमिकता दिनुपर्ने र अहिले दलहरुको घोषणापत्रले पनि डायस्पोरालाई नै लगानीमा जोड दिएकाले सहकार्य गरेर जान सकिने बताए ।
शर्माले स्किल डेटावेशको योजना पनि सुनाए । ‘विदेशमा सिकेको सीपलाई मान्यता दिने व्यवस्था गर्ने, सिटिइभिटीलाई जोड्ने, फर्केर गइसकेपछि स्किल बैंक होस् । यो काम जानेको मान्छे फर्केको छ, यसलाई यहाँ काममा लगाउ भन्ने डेटा बैंक बनाउन आवश्यक छ,’ उनले भने ।
एनआरएनए साउदीका उपाध्यक्ष विष्णु भण्डारीले स्वागत मन्तव्य राख्दै पहिले युरोपबाट फोनबाट भोट माग्ने गर्ने प्रचलन रहेकोमा अहिले आफूहरुको कर्मभूमिमा आएकोमा खुसी व्यक्त गरे । उनले शर्माको नेतृत्वमा एनआरएनए एकढिक्का हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा महिला उपाध्यक्ष रोजिना प्रधान राई, युरोप संयोजक चिरन्जिवी खड्का, मध्यपूर्व संयोजक राजेन्द्र अर्याल, एनआरएनए साउदी अरबका अध्यक्ष उमेश भट्टराई, नेपाल एयरलाइन्सको साउदी अबर कन्ट्री म्यानेजर अन्जु शर्मा, एनआरएनए साउदी अरबकी प्रमुख सल्लाहकार एवं निवर्तमान अध्यक्ष रविना अर्याल, सल्लाहकार रोशनकुमार श्रेष्ठ, दिनेश न्यौपाने, जनसम्पर्क समित साउदी अरबका वरिष्ठ उपाध्यक्ष सुरेशराज त्रिपाठीलगायत सहभागी थिए । एनआरएनए साउदी अरबका महासचिव शरद मोक्तानले कार्यक्रम सञ्चालन गरेका थिए