१२ फाल्गुन २०८२, मंगलवार
Follow Us

एनआरएनए युरोप संयोजकमा रोबोट लिम्बूको उम्मेदवारी घोषणा

नेपालब्रिटेन संवाददाता
१२ फाल्गुन २०८२, मंगलवार १७:४३

लण्डन । रोबोट लिम्बूले एनआरएनएको १२औँ एकता महाधिवेशनमा युरोप संयोजक पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।

संस्थागत पुनर्जीवन, एकता र विश्वास पुनर्निर्माणलाई मुख्य एजेन्डा बनाउँदै उनले वर्तमान अन्योल, विभाजन र विश्वासको संकट अन्त्य गर्न जिम्मेवार नेतृत्व आवश्यक रहेको बताएका छन्। संघको महाधिवेशन मार्च १४ देखि १६ सम्म काठमाडौंमा हुँदैछ।

सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै उनले एनआरएनएलाई व्यक्तिकेन्द्रित होइन, विधि, विधान र प्रणालीकेन्द्रित संस्थाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्। उनी वर्तमान कार्यसमितिका युरोप उपसंयोजक हुन्।

युरोप क्षेत्रको विविधता तथा फरक–फरक राष्ट्रिय समन्वय परिषद्हरूका चुनौतीलाई समेट्दै समन्वयकारी, पारदर्शी र निष्पक्ष नेतृत्व दिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। सबै समूह, देश र विचारलाई समान रूपमा समेटेर अघि बढ्ने उनको भनाइ छ।

लिम्बूले आरोप–प्रत्यारोप र विभाजनबाट सहकार्य र समाधानतर्फ उन्मुख हुनुपर्ने आवश्यकता औँल्याउँदै एकीकृत, सबल र परिणाममुखी एनआरएनए निर्माणका लागि सबैको साथ, सुझाव र सहयोग आवश्यक रहेको बताएका छन्।

धेरै पढिएको