काठमाडौं । नेपालमा आएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । श्रम रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चीन, भारत, अमेरिका, बेलायत, क्यानडासहित ७४ देशका नागरिकले श्रम इजाजत लिएर निर्माण, स्वास्थ्य, हवाई उडानलगायत विभिन्न क्षेत्रमा काम गरिरहेका छन् ।
विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ८९२ जना विदेशी नागरिकले नयाँ श्रम स्वीकृति लिएका थिए भने १ हजार ६६७ जनाले श्रम अनुमति नवीकरण गराएका थिए । यसरी कुल २ हजार ५५९ जना विदेशी श्रम इजाजत लिएर नेपालमा कार्यरत छन् ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३७३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने ७९३ जनाले नवीकरण गराएका छन् । यस अवधिमा एक हजार १६६ जना विदेशी नागरिकले श्रम इजाजत प्राप्त गरेका छन् ।
भारतबाट ठुलो सङ्ख्यामा नागरिक नेपालमा विभिन्न क्षेत्रमा कार्यरत भए पनि भारतीय नागरिकले श्रम स्वीकृति लिन नपर्ने भएकाले उनीहरूको वास्तविक सङ्ख्या सरकारी अभिलेखमा देखिँदैन ।
विभागका महानिर्देशक चक्रपाणि पाण्डेका अनुसार श्रम स्वीकृति लिने विदेशीमध्ये सबैभन्दा धेरै चिनियाँ नागरिक रहेका छन् । वर्षेनी करिब १ हजार ६ सय चिनियाँ नागरिक नेपालमा आएर काम गर्ने गरेका छन् ।
त्यस्तै बेलायतबाट एक सयभन्दा बढी नागरिक नेपालमा कार्यरत छन् भने जापानबाट पनि एक सयभन्दा बढी नागरिक विभिन्न परियोजनामा संलग्न छन् । ठुलो सङ्ख्यामा भारतीय नागरिक नेपालमा काम गरिरहेका भए पनि श्रम इजाजत लिन नपर्ने प्रावधानका कारण वास्तविक सङ्ख्या अभिलेखमा नरहेको पाण्डेले बताउनुभयो ।
उहाँका अनुसार नेपाल–भारतबिच सन् १९५० को सन्धिअनुसार दुवै देशका नागरिकले एकअर्काको देशमा काम गर्दा श्रम इजाजत लिनु पर्दैन । तथापि केही प्रतिष्ठानमा उच्च तहमा कार्यरत करिब ३० जना भारतीय नागरिकले भने श्रम स्वीकृति लिएर काम गरिरहेका छन् ।
नेपालको श्रम ऐनअनुसार उच्च दक्ष कामदारलाई बढीमा पाँच वर्ष र अन्य प्राविधिकलाई तीन वर्षसम्म काम गर्न दिने व्यवस्था छ । उच्च दक्ष कामदारले पुनःस्थापना योजना पेस गर्नुपर्छ । उच्च प्राविधिक काम गर्ने विदेशी नागरिकले १२ वर्षसम्म श्रम अनुमति नवीकरण गराएर बस्न पाउने व्यवस्था छ ।
विभागका अनुसार विशेषगरी निर्माण क्षेत्रमा विदेशी नागरिकको उपस्थिति उल्लेख्य छ । सुरुङ, टनेल, जलविद्युत आयोजना जस्ता प्रविधि आधारित ठूला परियोजनामा विदेशी प्राविधिक कार्यरत छन् । चिनियाँ सहयोगमा स्थापित सिमेन्ट तथा जलविद्युत उद्योगहरूमा चिनियाँ नागरिक कार्यरत छन् ।
त्यस्तै नेपालमा सञ्चालित ब्रिटिस विद्यालयहरूमा बेलायती नागरिक कार्यरत छन् भने जापानी परियोजनाहरूमा १०० भन्दा बढी जापानी नागरिक संलग्न छन् । केही अस्पतालमा विदेशी चिकित्सक कार्यरत छन् भने केही हवाई सेवा कम्पनीमा विदेशी स्टेशन म्यानेजर कार्यरत छन् । कतिपय विश्वविद्यालयमा विदेशी शिक्षकले अध्यापन गरिरहेका छन् ।
नेपाल सरकारसँग परियोजना सम्झौता गर्दा कतिपय विदेशी नागरिकलाई श्रम स्वीकृति लिन नपर्ने व्यवस्था गरिए पनि अधिकांशले श्रम स्वीकृति लिनैपर्छ । कुनै प्रतिष्ठानमा विदेशी नागरिकले अनुमति बिना काम गरेको पाइए कारबाही गरिने विभागले जनाएको छ ।
निर्माण व्यवसायीका अनुसार भारतीय मजदुरको अभिलेख व्यवस्थित नभए पनि निर्माण क्षेत्रमा ठुलो सङ्ख्यामा भारतीय मजदुर कार्यरत छन् । निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहका अनुसार नेपालका निर्माण क्षेत्रमा मात्र करिब ७ लाख भारतीय मजदुर कार्यरत छन् । मजदुर अभावका कारण भारतबाट मजदुर ल्याउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार मजदुर अभावका कारण निर्माण कम्पनीहरूबीच प्रतिस्पर्धा बढेको छ । भारतका विभिन्न गाउँमा गएर मजदुर ल्याउनुपर्ने अवस्था रहेको र मजदुर तानातान हुने समस्या पनि देखिएको छ ।
सिंहका अनुसार उद्योगधन्दा र निर्माण क्षेत्रसहित नेपालका विभिन्न क्षेत्रमा भारतीय मजदुरको सङ्ख्या २० लाखभन्दा बढी हुन सक्ने अनुमान छ । नेपाली श्रमिकहरू विदेश जाँदा कम्तीमा दुई वर्ष बस्ने गरे पनि भारतीय मजदुरहरू भने प्रायः छ महिनासम्म काम गरेर फर्कने गरेका छन् ।
श्रमिकको सम्मान र काम गर्ने वातावरणको अभावका कारण नेपालीहरू विदेश पलायन भइरहेको उल्लेख गर्दै उहाँले श्रमको सम्मान र रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।