अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासनविरुद्ध अहिलेसम्मकै कठोर सैन्य कदम चाल्ने चेतावनी दिएका छन् । हालैका द्वन्द्वमा अमेरिकी सैनिकहरूले ज्यान गुमाउनुपरेको सन्दर्भमा आक्रोश व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले त्यसको कडा बदला लिने घोषणा गरेका हुन् ।
आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत एक भिडियो सन्देश जारी गर्दै ट्रम्पले इरानमाथि भीषण प्रहार गर्ने तयारी भइरहेको जानकारी दिए । उनले अमेरिकाले हाल एक विशाल सैन्य अभियान सुरु गरिरहेको बताउँदै यो कदम केवल तात्कालिक सुरक्षाका लागि मात्र नभई भावी पुस्ताको सुनिश्चितताका लागि चालिएको दाबी गरे ।
सम्बोधनका क्रममा ट्रम्पले भने, ‘हामीले एक ठूलो र निर्णायक सैन्य अभियान सञ्चालन गरिरहेका छौं । यो हाम्रो वर्तमान समय र स्थानको सुरक्षाका लागि मात्र होइन, हाम्रा छोराछोरी र उनीहरूका सन्तानको भविष्य सुरक्षित गर्नका लागि पनि हो ।’ उनले यस कदमलाई स्वतन्त्र नागरिकको रक्षाका निम्ति एउटा अनिवार्य कर्तव्यको रूपमा व्याख्या गरेका छन् ।
इरानको वर्तमान शासनलाई ‘कट्टरपन्थी र रक्तपिपासु आतंकवादी’ को संज्ञा दिँदै ट्रम्पले आणविक हतियारयुक्त इरानबाट अमेरिकी जनता र विश्वलाई जोगाउन यस्तो कारबाही अपरिहार्य भएको तर्क गरे । इरानले आफ्ना लक्ष्यहरू पूरा नभएसम्म आक्रमण जारी राख्ने संकेत दिइरहेका बेला ट्रम्पको यो कडा प्रतिक्रिया आएको हो ।
यस सैन्य अभियानले मध्यपूर्वको राजनीति र सुरक्षा अवस्थामा थप जटिलता पैदा गर्न सक्ने आकलन गरिएको छ । ट्रम्पले आफ्नो सन्देशमा इरानलाई कुनै पनि हालतमा नछाड्ने र अमेरिकी सैनिकको बलिदान खेर जान नदिने अडान दोहोर्याएका छन् ।