१९ फाल्गुन २०८२, मंगलवार
Follow Us

चन्द्रनिगाहपुरमा शंकास्पद वस्तु भेटिएपछि त्रास

नेपालब्रिटेन संवाददाता
१९ फाल्गुन २०८२, मंगलवार ०६:१०

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका-५ स्थित राजपेडा क्षेत्रमा सोमबार बिहान शंकास्पद वस्तु फेला परेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ । सडकको छेउमा बेवारिसे अवस्थामा वस्तु देखिएपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको सुरक्षाकर्मीको टोलीले उक्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएर सुरक्षित घेरा (सिल) हालेको छ । अहिले उक्त वस्तुलाई निस्क्रिय पार्नका लागि नेपाली सेनाको नारायण दल गणबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगिसकेको छ । सेनाले उक्त शंकास्पद वस्तुको प्राविधिक परीक्षण गरी डिस्पोज गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।

पछिल्लो समय रौतहटमा यस्ता शंकास्पद वस्तुहरू निरन्तर फेला पर्न थालेपछि सुरक्षा संवेदनशीलता बढेको छ । यसअघि सोमबार नै जिल्लाको राजपुर नगरपालिका-६ मा भेटिएको शंकास्पद वस्तुलाई पनि नेपाली सेनाले सुरक्षित तवरले निस्क्रिय पारेको थियो ।

जिल्लाको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन र सम्भावित जोखिम न्यूनीकरण गर्न नेपाली सेनाको नारायण दल गुल्मले विशेष सक्रियता देखाएको छ । सेनाका अनुसार रौतहटका चारवटै निर्वाचन क्षेत्रमा एक-एकवटा र गौर-चन्द्रपुर सडक खण्डका लागि छुट्टै एक टोली गरी विशेष बम डिस्पोजल दस्ता परिचालन गरिएको छ ।

धेरै पढिएको