१८ चैत्र २०८२, बुधबार
Follow Us

एनआरएनए महिला उपाध्यक्षमा राधिका (टिका) गुरुङले उम्मेदवारी दिने

नेपालब्रिटेन संवाददाता
२१ फाल्गुन २०८२, बिहीबार १४:२५

लण्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्ष पदमा राधिका (टिका) गुरुङ ले उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले मार्च १४ देखि १६ सम्म काठमाण्डौंमा हुने १२औँ महाधिवेशनमा सो पदका लागि उम्मेदवारी दिने भएकी हुन्। वर्तमान कार्यसमितिमा उनी महिला सचिवको जिम्मेवारी सम्हाल्दै आएकी छन्।

राधिका (टिका) गुरुङले सामाजिक सञ्जाल मार्फत लेखेकी छन्, “नारीशक्तिमा गर्व गर्दै मैले आज यस शुभ दिन र शुभ साइतमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको १२औँ अन्तर्राष्ट्रिय एकता महाधिवेशनमा महिला उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय लिएकी छु। विश्वभरि रहनु हुने एनआरएनए अभियान्ताहरूको सल्लाह, साथ र समर्थनको लागि विनम्र अनुरोध गर्दछु।”

उनले आफ्नो एनआरएनए यात्रा उल्लेख गर्दै लेखेकी छन् कि उनले २००६ देखि २०२५ सम्म विभिन्न पदहरूमा संगठनमा सक्रिय भूमिका खेलेकी छन्। उनी २००६–२००९ पन्चिकृत सदस्य, २००९–२०११ एनसीसी हङकङ कार्यसमिति सदस्य, २०११–२०१३ एनसीसी हङकङ कोषाध्यक्ष तथा महिला संयोजक, २०१३–२०१५ उपाध्यक्ष, २०१५–२०१७ अध्यक्ष पदका प्रत्याशी, २०१७–२०१९ अध्यक्ष, २०१९–२०२१ पुनः अध्यक्ष, र २०२१–२०२५ एनआरएनए आईसीसीमा महिला सचिव तथा विभिन्न समितिका संयोजक रहिसकेकी छन्।

राधिका गुरूले महिला नेतृत्वको महत्वबारे औँल्याउँदै भनिन् कि महिला उपाध्यक्ष पद केवल प्रतिनिधित्व नभई दृष्टिकोण, संवेदनशीलता र समावेशीताको सशक्त आवाज हो। उनले संस्थाभित्रका चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्दै पारदर्शिता, जवाफदेहिता र आपसी विश्वासको आधारमा संघलाई अझ सशक्त र समावेशी बनाउने प्रतिवद्धता व्यक्त गरिन्।

उनले सबै वर्गका सदस्यहरू—महिला, युवा, व्यवसायी, पेशाकर्मी र दोस्रो पुस्तासम्म—लाई समेट्ने समावेशी संरचना निर्माण गर्नु आजको आवश्यकता भएको बताइन् र यही दृढ संकल्पका साथ महिला उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्। राधिका गुरूले आफ्नो घोषणाको अन्त्यमा लेखेकी छन्, “एक पटकको नेपाली, सधैँको नेपाली। तपाईंहरूको विश्वास, साथ र समर्थनको हार्दिक अपेक्षा गर्दछु।”

धेरै पढिएको