१६ असार २०८३, मंगलवार
Follow Us

दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार

नेपालब्रिटेन संवाददाता
१ चैत्र २०८२, आईतवार ०६:३०

काठमाडौँ । यस वर्षको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार ललिता दास तत्मा ‘विद्रोही’लाई अर्पण गरिने भएको छ । मानवअधिकार तथा शान्ति समाजद्वारा स्थापित सो पुरस्कारको राशि रु एक लाख १० हजार रहेको छ ।

मधेसको दलित समुदायबाट सामाजिक न्यायको आन्दोलनमा सशक्त भूमिका निर्वाह गर्नुका साथै दलित, महिला र सीमान्तकृत समुदायको अधिकारका लागि योगदान हेतु ललिता दासलाई पुरस्कृत गर्ने निर्णय शान्ति समाजको पुरस्कार छनोट समितिको बैठकले गरेको सभापति रेनुका पौडेलले जनकारी दिइन्।

विसं २०४२ साउन १४ गते सिरहा जिल्लाको सन्हैठा गाउँमा जन्मिएकी हाल लहान निवासी ललिता दास मधेस प्रदेशको प्रदेश सभा सदस्य तथा प्रदेश सभामा महिला बालबालिका तथा सामाजिक न्याय समितिको सदस्य हुनुका साथै जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य छिन् ।

जातीय तथा सामाजिक विभेद र उठिवासका घटनाविरुद्ध सडकदेखि सदनसम्म आवाज उठाउँदै विद्रोहीको पहिचान बनाउनुभएकी ललिता दास मधेसमा भएका विभिन्न आन्दोलनका क्रममा पटकपटक पक्राउ पर्नुका साथै सामाजिक आन्दोलनमा समेत सक्रिय छिन् ।

आमाको निधन हुँदा छोरीले शव बोक्न नहुनेलगायतका मान्यता भत्काउँदै २०८० सालमा आफ्नो आमाको निधन हुँदा माइती गाउँबाट कमला नदीसम्म शव बोकेर जानुका साथै १३ दिनसम्म कपाल खौरिएर काजकिरियामा बसेकी थिइन् ।

विगतमा रेडियो पत्रकारका रूपमा समेत क्रियाशील ललिता दासका दर्जनौँ लेख रचना प्रकाशित छन् ।

धेरै पढिएको