८ चैत्र २०८२, आईतवार
Follow Us

पाल्पा टिपर दुर्घटनाका मृतक चार जनाको परिचय खुल्यो

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०८२, आईतवार ०६:३८

काठमाडौं । पाल्पाको माथागढी गाउँपालिकामा शनिबार साँझ भएको टिपर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका थप एक जनाको उपचारका क्रममा ज्यान गएसँगै मृतकको सङ्ख्या बढेको हो ।

तानसेन नगरपालिका-१०, पटुवाका ३३ वर्षीय राजन चिदीको रुपन्देहीस्थित भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) होमप्रकाश चौधरीले जानकारी दिए ।

यसअघि नै उक्त दुर्घटनामा परी अन्य तीन जनाले ज्यान गुमाइसकेका थिए । मृत्यु हुनेहरूमा टिपर चालक अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-४, सिद्धाराका २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही ठाउँका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह नगरपालिका-२, खैरेनीका २६ वर्षीय सुनिल नेपाली रहेका छन् ।

प्रहरीका अनुसार शनिबार बेलुका झडेवाबाट रहबासस्थित चुनढुङ्गा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर माथागढी-७, रहबासमा दुर्घटनामा परेको थियो । सडकबाट करिब एक सय मिटर तल खसेर भएको उक्त दुर्घटनामा परी टिपरमा सवार चारै जना गम्भीर घाइते भएका थिए ।

दुर्घटनालगत्तै घाइतेहरूलाई उद्धार गरी प्राथमिक उपचारका निम्ति प्रभासस्थित लुम्बिनी मेडिकल कलेज लगिएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकले चालक सुनारलगायत तीन जनालाई मृत घोषणा गरेका थिए । गम्भीर अवस्थामा रहेका चिदीलाई भने थप उपचारका लागि भैरहवा रिफर गरिएकोमा उनको पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

धेरै पढिएको