१० श्रावण २०८३, आईतवार
Follow Us

१० करोडको वैदेशिक रोजगारी कल्याणकारी कोष बनाउने एनआरएनएको तयारी

नेपालब्रिटेन संवाददाता
९ चैत्र २०८२, सोमबार २०:४३

लण्डन । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सहयोगार्थ १० करोड रुपैयाँको ‘वैदेशिक रोजगारी कल्याणकारी कोष’ स्थापना गर्ने तयारी गैरआवासीय नेपाली संघ (एनआरएनए) ले थालेको छ।

वैदेशिक रोजगारीमा रहेका तथा स्वदेश फर्केका नेपालीहरूको सुरक्षा, राहत, उद्धार, स्वास्थ्य उपचार, कानुनी सहयोग तथा पुनर्स्थापना सुनिश्चित गर्ने उद्देश्यसहित आगामी डेढ वर्षभित्र कोषको आकार १० करोड रुपैयाँ पुर्‍याउने लक्ष्य निर्धारण गरिएको संघका अध्यक्ष डा. हेमराज शर्माले जानकारी दिएका छन्।

गत शुक्रबार काठमाडौंमा सम्पन्न संघको पूर्ण बैठकले विश्वभर रहेका पञ्जीकृत सदस्यहरूबाट प्रति सदस्य १ अमेरिकी डलरका दरले संकलन हुने करिब १ करोड ५० लाख रुपैयाँ, संस्थामा हाल मौज्दात रहेको ३ करोड रुपैयाँ तथा कार्यसमिति बैठकमा पदाधिकारी, सदस्य र उपस्थित प्रतिनिधिहरूबाट स्वेच्छिक योगदानमार्फत करिब १ करोड रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ। बाँकी अपुग रकम दाताहरू तथा सदस्यहरूसँग समन्वय गरी जुटाउँदै १० करोड रुपैयाँको स्थायी कोष स्थापना गरिने जनाइएको छ।

बैठकले विभिन्न देशहरूमा हुने आकस्मिक मृत्यु, दुर्घटना वा अन्य विपद्मा परेका श्रमिकका परिवारलाई कानुनी सहयोग उपलब्ध गराउने तथा श्रमिकका समस्याहरूको सम्बोधनका लागि काठमाडौंस्थित सचिवालयमा छुट्टै कर्मचारी व्यवस्था गर्ने निर्णय समेत गरेको छ।

धेरै पढिएको