१० चैत्र २०८२, मंगलवार
Follow Us

मध्यपूर्वको तनावले सिजनमै छैनन् पोखरामा पर्यटक

नेपालब्रिटेन संवाददाता
१० चैत्र २०८२, मंगलवार ०५:५२

कास्की । मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ । मध्यपूर्वमा अमेरिका-इजरायल र इरानबीच तनाव बढ्दै जाँदा दोस्रो मुख्य पर्यटकीय सिजनमै पोखरामा पर्यटक आगमन घट्दै गएको सरोकारवालाहरूले बताएका छन् ।

खासगरी युरोप र अमेरिकाबाट आउने पर्यटकको मुख्य ट्रान्जिट दुबई, कतार र साउदी अरेबिया युद्ध प्रभावित हुँदा पर्यटक आगमन प्रभावित भएको उनीहरूको भनाइ छ । पोखरा आउने पर्यटकहरूले धमाधम होटल, ट्राभल र ट्रेकिङ बुकिङ रद्द गरिरहेको पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईले बताए । उनले मध्यपूर्वको तनावका कारण युरोप र अमेरिकाबाट आउने पर्यटकहरू आउन नसकेको बताए । उनले युद्ध लम्बिँदा व्यवसायी समेत समस्यामा पर्दै गएको गुनासो गरे ।

उनले भने, ‘मध्यपूर्वमा बढेको तनावले नेपालको पर्यटन क्षेत्र समेत प्रभावित भएको छ । नेपाल आउने प्रायजसो पर्यटकले कतार, दुबई लगायतका क्षेत्र नै ट्रान्जिट बनाएर आउने भएको कारण अहिले समस्या भएको छ । नेपालमा ट्रेकिङ र मनोरम दृश्य हेर्न आउने युरोपका पर्यटकहरू र यो समयमा नेपाल फर्किनुपर्छ भन्ने पर्यटकहरू पनि आउन सक्नुभएको छैन । धेरैजसो पर्यटकहरू मिडिल इस्टको युद्धका कारण जताबाट आउनुभएको छ उतै डाइभर्ट हुने समस्या भएको छ । युद्धको कारण ग्यास र इन्धन अभावले हामी पनि समस्यामा पर्दै गएका छौँ ।’

होटल एसोसिएसन पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले अन्नपूर्ण पदयात्राको दोस्रो ठूलो सिजनमा समेत अपेक्षाकृत पर्यटकहरू नआएको बताए । उनले मध्यपूर्वमा जारी युद्धका कारण विदेशी पर्यटक नेपाल भित्रिन नसकेको बताए । अमेरिकाले अति आवश्यक काम बाहेक बाहिर ननिस्कन जारी गरेको एड्भाइजरीका कारण पर्यटक आगमन खस्केको उनको भनाइ छ । उनले युरोप र अमेरिका बाहेक भारतीय तथा आन्तरिक पर्यटकको आगमन विगतको जस्तै भएको पनि उल्लेख गरे ।

उनले भने, ‘अहिले पोखरामा आउने पर्यटकको कुरा गर्दा अन्नपूर्ण पदयात्रामा जाने दोस्रो ठुलो सिजन मार्च, अप्रिल, मे महिना हो भनेर हामी लिन्छौँ । तर अहिले मध्यपूर्वको जुन अवस्था छ त्यसले गर्दा नेपालमा आउने धेरै युरोपियन पर्यटकहरू जो नेपालमा पदयात्राका लागि आउनुहुन्छ उहाँहरू आउन सक्नुभएको छैन । अमेरिकाले पनि आफ्ना नागरिकलाई अहिले नेपालमा असुरक्षा छ भन्ने खालको एड्भाइजरी जारी गरेको कारणले अमेरिकन पर्यटकहरू एकदमै न्यून र युरोपियन पर्यटकहरू पनि सोचेजस्ता संख्यामा आउन सकिरहनुभएको छैन । त्यसबाहेक भारतीय र आन्तरिक पर्यटकहरूको उपस्थिति राम्रो छ ।’

पर्यटन व्यवसायी नेत्र पौडेलले इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण पोखरामा पर्यटकीय गतिविधिका लागि हुने अग्रिम बुकिङहरू रद्द भइरहेको बताए । दोस्रो मुख्य पर्यटकीय सिजनमै अपेक्षाकृत पर्यटक आगमन नहुनुको मुख्य कारण मध्यपूर्वमा जारी द्वन्द्व रहेको उनको बुझाइ छ ।

उनले भने, ‘पछिल्लो समय इजरायल, अमेरिका र इरानबीच भइरहेको लडाइँका कारण पोखरामा ट्रेकिङ लगायतका लागि भएका बुकिङहरू धमाधम रद्द हुने कार्य जारी छ । त्यसकारण हाम्रा होटल, ट्राभल र ट्रेकिङका बुकिङहरू पनि रद्द हुने क्रम बढेको देखिन्छ । समग्रमा जुन किसिमले यो समयमा पर्यटकहरू हुनुपर्ने हो त्यो किसिमले आएका छैनन् ।’

कोरोना भाइरसको महामारीपछि बिस्तारै लयमा फर्किंदै गएको नेपालको पर्यटन व्यवसाय मध्यपूर्वमा बढ्दो तनावले फेरि प्रभावित हुने देखिएको छ । नेपाललाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन राज्यले विशेष रणनीतिका साथ काम गर्नु अपरिहार्य छ ।

धेरै पढिएको