८ बैशाख २०८३, मंगलवार
Follow Us

लक्जेम्बर्गमा एनआरएनएको नयाँ नेतृत्व

नेपालब्रिटेन संवाददाता
११ चैत्र २०८२, बुधबार ०२:५७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) लक्जेम्बर्गको नयाँ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) गठन गरिएको छ। मंगलबार सम्पन्न भेलाले दुर्गा थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यमा युद्ध थापालाई चयन गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. शर्माले नवगठित समितिले लक्जेम्बर्गमा रहेका सम्पूर्ण नेपाली समुदायलाई एकीकृत गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे। उनले नेतृत्वमा महिलाको सहभागिता तथा दोस्रो पुस्ताको उल्लेखनीय उपस्थिति सकारात्मक पक्ष भएको उल्लेख गरे।

उनले लक्जेम्बर्गलाई मिलेर बसेको र स्थापित नेपाली समुदायको देशका रूपमा चिनिने भएकाले नयाँ कार्यसमितिले यस सकारात्मक छविलाई अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरे। साथै, यो आफ्नो चौथो लक्जेम्बर्ग भ्रमण रहेको जानकारी पनि दिए।

यसअघि सन् २००८ मा डा. उपेन्द्र महतो, जीवा लामिछाने र राम थापाको विशेष उपस्थितिमा एनसीसी पहिलो पटक गठन गरिएको थियो। सर्वसम्मतिको वातावरण बनाउन बालकृष्ण सापकोटाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

कार्यक्रममा निवर्तमान अध्यक्ष बिमल बाबु उपाध्याय, पूर्व अध्यक्षहरू हरि खड्का र नारायण गुरुङ, साथै नव निर्वाचित उप–महासचिव अनुजा प्रधानलगायतको उपस्थिति रहेको थियो।

धेरै पढिएको