१२ चैत्र २०८२, बिहीबार
Follow Us

कार्की आयोगको सिफारिस ‘चरम पूर्वाग्रह’- केपी ओली

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०८२, बिहीबार ११:५३

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्की आयोगको प्रतिवेदनलाई ‘कुकर्म’ र ‘भद्दा नाटक’ को संज्ञा दिएका छन् ।

उनले फौजदारी अपराध दण्डसंहिता २०७४ को दफा १८१ र १८२ अनुसार आफूमाथि छानबिन गर्न गरिएको सिफारिसलाई कानुनी रूपमा ‘निराधार’ र ‘अस्वीकार्य’ भएको बताएका हुन् ।

ओलीले कानुनी तर्क प्रस्तुत गर्दै दफा १८१ र १८२ आकर्षित हुनका लागि सम्बन्धित व्यक्ति घटनास्थलमा उपस्थित हुनुपर्ने र घटना प्रत्यक्ष रूपमा उसैबाट गराइएको हुनुपर्ने बताए । उनले प्रधानमन्त्रीले गोली चलाउने आदेश नदिने र गोली पनि नचलाउने भन्दै आयोगका पदाधिकारीहरू पहिले नै एमाले विरुद्ध विषाक्त धारणा राख्ने व्यक्तिहरू भएकोले यस्तो प्रतिवेदन आएको दाबी गरे ।

उनले भने ‘दफा १८१ र १८२ घटनास्थलमा व्यक्ति उपस्थित भएको हुनुपर्दछ र उसबाट घटना प्रत्यक्ष रूपमा घटाइएको हुनुपर्दछ । भवितव्यले होस् कि लापरबाहीले होस् जुनसुकै परिस्थितिमा पनि उसको उपस्थिति घटनास्थलमा आवश्यक छ अनि मात्र उसले लापरबाही गरेर यस्तो भयो भन्ने कुरा हुन्छ । जो मान्छे त्यहाँ उपस्थित नै छैन उसको लापरबाही भन्ने कुरै हुँदैन ।’

यो सिफारिसलाई उनले बदनाम गर्ने र चरित्र हत्या गर्ने ‘घृणाको राजनीतिको अर्को प्रकटीकरण’ का रूपमा व्याख्या गरे ।

धेरै पढिएको