देश रित्तिन नदिन ‘एक पटकको नेपाली, सधैंको नेपाली’ अवधारणा
लण्डन। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशबाट जनशक्ति पलायन रोक्न र आर्थिक विकासलाई गति दिन डायसफोरालाई सक्रिय रूपमा जोड्ने नीति अघि सारिएको बताएका छन्।
शुक्रबार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले “देश रित्तिन नदिन ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने अवधारणाअनुसार प्रवासी नेपालीलाई राष्ट्र निर्माणमा जोड्ने” स्पष्ट पारे।
उनका अनुसार हाल तीन जनामध्ये एक जना नेपाली विदेश जाने प्रवृत्ति बढ्दो छ। यस्तो अवस्थामा जनशक्ति क्षय हुन नदिन डायसफोरालाई प्राथमिक लगानीकर्ताका रूपमा स्थापित गर्ने सरकारको योजना रहेको उनले बताए।
मन्त्री वाग्लेले भने, “डायसफोराको लगानीबाट धेरै देशहरूले उल्लेखनीय प्रगति गरेका उदाहरण छन्। नेपालमा पनि लगानीको वातावरण निर्माण गरी प्रवासी नेपालीलाई देश निर्माणमा आमन्त्रण गर्छौं।”
उनले थपे, “नेपाली डायसफोरा अब परिपक्व भइसकेको छ। उनीहरूको सीप, अनुभव र पूँजीलाई देशको विकासमा उपयोग गर्न हामी तयार छौं। साथै, लगानीमा बाधा पुर्याउने झन्झटिला कानुनहरू खारेज गरिनेछ।”
अर्थमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै डा. वाग्लेले राजस्व अनुसन्धान विभागसहित १५ वटा ऐन खारेज गर्ने निर्णय गरेका छन्। साथै, १३ चैतसम्मको आर्थिक अवस्थाबारे श्वेतपत्र (ह्वाइट पेपर) तयार पार्न कार्यदल गठन गर्ने निर्णय पनि गरिएको छ।
मन्त्री वाग्लेले प्रणालीगत समस्या समाधानका लागि इमानदार प्रयास गर्ने र रूपान्तरणकारी बजेट ल्याउने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसका आधारमा पुराना कानुनहरू संशोधन तथा खारेज गर्ने प्रक्रिया अघि बढाइनेछ। यस अन्तर्गत ऐन खारेजीसम्बन्धी अध्ययनका लागि कार्यदल गठन गरिनेछ।
यसैबीच, सरकारले अबको ध्यान बजेट निर्माणमा केन्द्रित गर्ने, निजी उद्यमको सुरक्षा सुनिश्चित गर्ने तथा ठूला आयोजनाहरूलाई तीव्रता दिने तयारी गरिरहेको उनले बताए। “निजी क्षेत्रको विश्वास जित्ने, लगानीको वातावरण सहज बनाउने र ठूला परियोजनाहरूलाई गति दिने दिशामा सरकार अघि बढ्छ,” उनले भने।