लन्डन – वरिष्ठ हृदय रोग विशेषज्ञ डा भगवान कोइरालाको नेतृत्वमा स्थापित काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ लन्डनमा एक च्यारिटी कार्यक्रम आयोजना गर्न लागिएको छ।
के–पाल्स यूकेले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सहयोग पुर्याउने उद्देश्यले आउँदो अप्रिल १८ (शनिबार) एउटा च्यारिटी कार्यक्रम आयोजना गर्न लागेको हो । उक्त कार्यक्रमले समर्थक, दाता तथा शुभेच्छुकहरूलाई एकै ठाउँमा ल्याई बालबालिकाका लागि अत्यावश्यक स्वास्थ्य सेवा—जस्तै गम्भीर उपचार, विशिष्टीकृत सेवा तथा आवश्यक परिवारहरूलाई सहयोग – मजबुत बनाउन आवश्यक रकम संकलन गर्ने लक्ष्य राखेको छ।
सन् २०१७ मा गैरनाफामूलक संस्थाका रूपमा स्थापना भएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) ले नेपालभरका बालबालिकाका लागि समग्र तथा उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। इन्स्टिच्युटले गुणस्तरीय मात्र होइन, सुलभ, पहुँचयोग्य र उपलब्ध स्वास्थ्य सेवा प्रदान गर्दै बालबालिकाको जीवनस्तर सुधार गर्ने उद्देश्य राखेको छ। नेपालमा सस्तो र सहज बाल स्वास्थ्य सेवा प्रवाहमा इन्स्टिच्युटलाई सहयोग गर्ने लक्ष्यसहित के पाल्स यूके स्थापना गरिएको हो।
च्यारिटी इभेन्ट बारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै किओचका अध्यक्ष डा. भगवान कोइरालाले नेपालमा बालबालिकाका लागि पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अभियानमा के–पाल्स यूकेजस्ता संस्थाहरूको सहयोग अत्यन्त महत्वपूर्ण रहेको छ। उनले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थद्वारा दमकमा संचालित अस्पातलले गएको तीन वर्षमा २१५,००० भन्दा बढी बालबालिकाको उपचार गरि सकेको जान कारी दिंदै उक्त अस्पताल तथा काठमाडौँ स्थित विशिष्टिकृत अस्पतालको निर्माण र संचालन मा सहयोग गर्ने नेपाली डायस्पोरा तथा संघ संस्था लाई विशेष धन्यवाद दिए।
के–पाल्स यूकेकी ट्रष्टी प्रसुना कडेलले संचालन गरेको कार्यक्रममा के–पाल्स यूकेका ट्रष्टीहरु प्रा डा सत्यन राजभण्डारी, डा रमेश कोजु तथा शिवजी श्रेष्ठले
च्यारिटी डिनरबाट संकलित रकम किओचले बालबालिकाका लागि सेवा विस्तार तथा सुधारका लागि सञ्चालन गरिरहेको प्रयासमा उपयोग गरिने जनाए ।
के–पाल्स यूकेले सबै समर्थक, साझेदार तथा समुदायका सदस्यहरूलाई कार्यक्रममा सहभागी भई बालबालिका र तिनका परिवारहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान दिन आह्वान गरेको छ।
च्यारिटी कार्यक्रमको विवरण:
मिति: शनिबार, १८ अप्रिल २०२६
स्थान: Blue Room Sports Venue, Harrow, London HA2 6LY
समय: बेलुका ५:३० बजे देखि।