लन्डन – नेपाल संवादको १६ औँ शृखला अन्तर्गत ४ अप्रिल, २०२६ (शनिबार) ‘नेपालमा वैदेशिक लगानी र एनआरएनहरुको भूमिका’ विषयक एक वेबिनार आयोजना गर्न लागिएको छ। सेन्टर फर नेपाल स्टडिज युकेद्वारा आयोजना गरिने मासिक संवाद शृंखला अन्तर्गत यस पटक विश्व अर्थतन्त्रमा देखिएका चुनौतीहरु बीच नेपालमा वैदेशिक लगानी र एनआरएनहरुको भूमिकाबारे छलफल गर्न लागिएको हो।
वेबिनारलाई एनआरएनएका नवनिर्वाचित अध्यक्ष डा हेम राज शर्मा, नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर बम बहादुर मिश्र, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा तथा डोल्मा इम्प्याक्ट फन्डका सीइओ टिम गोचरले सम्बोधन गर्नेछन्।
“नेपालमा गत सेप्टेम्बरमा भएको जेनजी आन्दोलनपछि भएको आमनिर्वाचनबाट ठुलो बहुमतसहितको स्थायी सरकार गठन भएको छ।त्यसैगरी धेरै वर्षको किचलोपछि एकीकृत एनआरएनएको निर्वाचन सम्पन्न भएको छ।अर्कोतिर आन्तरिक र बाह्य दुवै हिसाबले आर्थिक परिस्थिति विषम छ। जेनजी आन्दोलनकै क्रममा भएको क्षतिका कारण नेपालको वार्षिक वृद्धिदर सङ्कुचित हुने प्रक्षेपण गरिएको छ। निजी लगानी र त्यसको सुरक्षाको प्रश्न टड्कारो रहेको छ। खाडीमा चलिरहेको युद्धले संसारभरि नै नयाँ आर्थिक संकट सृजना गर्दै छ,” नेपाल संवाद युके शृंखलाका संयोजक डा कृष्ण अधिकारीले भने । “यस्तो परिस्थितिमा नेपालमा वैदेशिक लगानीको अनुभव र अवस्था कस्तो छ ? वैदेशिक लगानी आकर्षण गर्ने नारालाई व्यावहारमा कसरी रुपान्तरण गर्न सकिएला? खासगरी गैरआवासीय नेपालीहरूको के भूमिका हुन सक्छ? यी र अन्य सम्बन्धित प्रश्नहरूमा विज्ञहरूबीच छलफल गर्न यो प्यानलको आयोजना गर्न लागिएको हो।”
वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट एलएन पाण्डेले वेबिनारको सहजीकरण गर्ने छन्।
युके समय अनुसार शनिबार बिहान १० बजे सुरु हुने उक्त वेबिनारमा यो लिंकमा गएर सहभागी हुन सकिने आयोजकले जनाएका छन्।
https://us06web.zoom.us/j/86235798097