२८ चैत्र २०८२, शनिबार
Follow Us

स्पेनमा नेपाली मन्दिर बनाउन एनआरएनएले उठायो ५ करोड रुपैयाँ

नेपालब्रिटेन संवाददाता
२८ चैत्र २०८२, शनिबार २०:४४

१५ हजारको सहभागिता

बार्सिलोना । स्पेनस्थित नेपाली समुदायले बार्सिलोनामा नेपाली घर (मन्दिर) बनाउनको लागि ५ करोड भन्दा बढी रुपैयाँ संकलन गरेका छन् ।

गैरआवासीय नेपाली संघ स्पेनका प्रवक्ता रमेश खनालका अनुसार गैर–आवासीय नेपाली संघ स्पेनको आयोजनामा बार्सिलोनामा सञ्चालित ५ दिने ‘स्पेन आध्यात्मिक महोत्सव २०२६’ मा ३ लाख युरो (५ करोड २१ लाख नेपाली रुपैयाँ) भन्दा बढीको आर्थिक संकलन भएको हो ।

महोत्सवमा वाचन शिरोमणि पण्डित श्री दीनबन्धु पोखरेलको मुखारविन्दबाट प्रवाहित आध्यात्मिक प्रवचनले वातावरण भक्तिमय बनेपछि नेपाली समुदायले मन फुकाएर आ–आफ्नो आर्थिक प्रतिबद्धता घोषणा गरेका थिए । आर्थिक प्रतिबद्धता जाहेर गर्नेहरूलाई आगामी महिनाभित्र संस्थाको खातामा पैसा संकलन गर्न आग्रह गरिएको खनालले जनाए ।

महोत्सवको पहिलो दिन नजिकैको समुद्रबाट १०८ कलशमा पवित्र जल भरेर निकालिएको कलश–शोभायात्राले वातावरण उत्सवमय बनाएको थियो । एनआरएनए स्पेनको महिनौँ लामो गृहकार्य, २८ वटा उपसमिति र १४ सह–संयोजकहरूको चुस्त व्यवस्थापनले कार्यक्रम सफल भएको संघले जनाएको छ ।

उद्घाटन समारोहमा इस्कोन मन्दिर बार्सिलोनाको विशेष भजन–नृत्य प्रस्तुतिले महोत्सवलाई थप उल्लासमय बनाएको थियो ।

एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले संस्थाले प्रमुख उद्देश्य पूरा भएको बताए । उनले भने, “नेपाल घर (मन्दिर) निर्माणका लागि आर्थिक संकलन गर्नु त थियो नै, तर त्योभन्दा महत्त्वपूर्ण कुरा परदेशको व्यस्त जीवन र कामको स्ट्रेस (तनाव) मा रहेका नेपालीहरूलाई आध्यात्मिक प्रवचनमार्फत मानसिक शान्ति र ऊर्जा प्रदान गर्नु थियो ।”

सो महोत्सवमा १५ हजारभन्दा बढी मानिसहरूको सहभागिता रहेको बताइएको छ ।

कथावाचन शिरोमणि दीनबन्धु पोखरेलले स्पेनको महायज्ञलाई “युरोपको इतिहासकै सबैभन्दा सफल र अद्वितीय” कार्यक्रमको संज्ञा दिए ।

कार्यक्रम समापन गर्दै उनले आयोजकलाई प्राप्त दानको पारदर्शिता कायम गर्न र तुरुन्तै निर्माण प्रक्रियामा लाग्न आग्रह गरे ।

उनले भने, “युरोपको इतिहासमै सबैभन्दा सफल, अद्वितीय एवं उत्साहपूर्ण महायज्ञ । व्यस्त जीवनमा विशेष आध्यात्मिक ज्ञानसहितको ऊर्जा मिल्यो । ३ लाख युरोभन्दा बढी संकलन हुनु ऐतिहासिक उपलब्धि हो ।”

प्रवक्ता खनालका अनुसार सो भवन खरिद गर्नको लागि कार्यविधि बनाएर भवन खरिद र व्यवस्थापनको सम्पूर्ण प्रक्रियालाई पारदर्शी ढंगले अगाडि बढाउने भएको छ ।

महोत्सवमा ‘नेपाल घर मन्दिर’ निर्माणका लागि मायोर्काका व्यवसायी एवं समाजसेवी बालकृष्ण तिवारी र रामकला तिवारीले १५,५५५ युरो सहयोग प्रदान गरेर आफूहरूलाई सबैभन्दा ठूलो दानवीरको रूपमा नाम लेखाएका छन् । तिवारी दम्पती हिमाल रेस्टुरेन्टका सञ्चालक हुन् ।

महोत्सव अवधिभर भोजन प्रसाद व्यवस्थापनमा देखिएको सहभागिता उदाहरणीय रहेको आयोजकले जनाएको छ । हजारौँ श्रद्धालुहरूलाई शुद्ध सात्विक भोजन गराउन विभिन्न व्यवसायी र दाताहरूले देखाएको रुचि र आर्थिक प्रायोजनले प्रवासमा पनि नेपालीहरूको “सेवा नै धर्म हो” भन्ने भावनालाई उजागर गरेको थियो ।

एनआरएनए स्पेनले महोत्सव सफल पार्न अहोरात्र खटिने स्वयंसेवक, कलाकार, सञ्चारकर्मी र समस्त स्पेनवासी नेपाली समुदायलाई कार्यक्रमको सफलताको लागि धन्यवाद ज्ञापन गरेको छ ।

धेरै पढिएको