२५ बैशाख २०८३, शुक्रबार
Follow Us

प्रधानन्यायाधीश सिफारिसमा हर्क साम्पाङ असन्तुष्ट, उपसभामुखसँग रुष्ट

नेपालब्रिटेन संवाददाता
२५ बैशाख २०८३, शुक्रबार ०७:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् छलेर ल्याइएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गरिएको घटनाप्रति गम्भीर आपत्ति व्यक्त गरेका छन ।

आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले राष्ट्रप्रमुखलाई दबाब दिएर अध्यादेश जारी गराउनु र वरीयता मिचेर नियुक्ति गर्नुलाई सरकारको ठूलो गल्ती गरेको समेत बताएका छन ।

उनले भने, ‘संसद् छलेर राष्ट्र प्रमुखलाई दबाब दिई संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गराउनु गलत थियो । गलत कार्यलाई कदापि सही भन्न सकिन्न र भन्न हुँदैन, ‘वरीयताले चौथोलाई प्रधानन्यायाधीश नियुक्त गर्नु अर्को ठूलो गल्ति गरेको छ यो सरकारले ।’

सुशासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै उनले यसमा राजनीतिक र कानुनी स्वार्थ लुकेको आशंका व्यक्त गरेका छन् ।

विज्ञप्तिमा सहकारी ठगी प्रकरण र भदौ २३–२४ को जेनजी आन्दोलन जस्ता विषयमा आफ्नो पक्षमा अदालतबाट निर्णय गराउने उद्देश्यले यो नियुक्ति दिइएको हुन सक्ने प्रशस्त आशंका रहेको उल्लेख गरेका छन । साथै, नियुक्ति सम्बन्धी बैठकमा एमसीसी र एसपीपी जस्ता विषयको प्रसंग ल्याएर दबाब र प्रभाव सिर्जना गरिएको दाबी समेत गरेका छन ।

अध्यक्ष साम्पाङले वरीयता मिचेर गरिएको उक्त निर्णयमा हस्ताक्षर गरेको भन्दै आफ्नै पार्टीबाट निर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरको कदमप्रति समेत कडा असन्तुष्टि र खेद प्रकट गरेका छन् ।

‘हाम्रै पार्टीबाट जानु भएको उपसभामुखले समेत वरीयताको क्रमलाई उल्लङ्घन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण रहेको छ,’ विज्ञप्तिमा भनिएको छ । यसरी विधि मिचेर राजनीतिलाई अघि बढाउने प्रवृत्तिको श्रम संस्कृति पार्टीले सदासर्वदा विरोध गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन ।

धेरै पढिएको