काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध उजुरी आह्वान गरेको छ ।
समितिले आज एक सूचना जारी गर्दै शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार र सबुत प्रमाणसहित १० दिनभित्र उजुरी दिन आग्रह गरिएको छ ।
उजुरी शिष्ट र मर्यादित भाषामा पेश गर्नुपर्ने उल्लेख गर्दै समितिले संसदीय सुनुवाइ समिति, संघीय संसद् सचिवालय सिंहदरबारस्थित सचिवालय वा कुनै जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिन सकिने जनाएको छ ।
सूचना दिने व्यक्तिले आफ्नो नाम, थर, वतन र फोन नम्बर खुलाउनुपर्ने व्यवस्था गरिएको छ । यद्यपि, उजुरीकर्ताले चाहेमा नाम गोप्य राखिने समितिले जनाएको छ ।
समितिले जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त हुने उजुरी तोकिएको समयभित्र सचिवालयमा पठाइदिन पनि अनुरोध गरेको छ ।