काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दिएको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । संयोजक दाहालले श्रमजीवि वर्गमाथि सबैभन्दा ठूलो आहात दिने काम सरकारबाट भएकाले पनि नेपालका कम्युनिष्ट पार्टीहरूले वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिएर काम गर्नुपर्ने बेला आएको बताए ।
उनले कम्युनिष्टहरुबीचको एकताले मात्रै वर्ग संघर्षलाई माथि उठाउन सकिने भएकाले सो काममा नेपालका कम्युनिष्ट पार्टीहरू एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता भएको पनि बताए ।
संयोजक दाहालले भने, ‘अहिले सरकारको तर्फबाट सबभन्दा गरिबहरूमाथि, निमुखाहरूमाथि नै सबभन्दा बढी आहात, पीडा दिने कोशिस भएको छ । सबभन्दा गरिब, जसको हामी वर्गं आधार भन्ने गर्दछौँ । त्यही वर्गंमाथि प्रहार भएको छ । हामीले यो बीचमा वैचारिक ढंगले र आफ्नो वर्गं आधारलाई दह्रोसँग समात्नुपर्नेमा कमजोरी भएको छ । हाम्रो वर्गीय पक्षधरतामाथि आक्रमण गरेर नेपालमा कम्युनिष्टहरुलाई सिध्याउने देशीविदेशी प्रतिक्रियावादीहरू लागेका छन् । त्यसकारण हामीले वर्ग संघर्षलाई माथि उठाउन सबै कम्युनिष्टहरुबीच एकता गरेर अघि बढ्नुपर्नेछ ।’
अध्यक्ष दाहालले नेपाली जनताले नेपालमा कुम्युनिष्ट पार्टीहरूमाथि नै भरोसा गरिरहेको जिकिर पनि गरे ।