काठमाडौँ। आरोही फूर दिकी शेर्पा सन् २०२६ को वसन्त ऋतुमा विश्वको चौथो अग्लो हिमाल ल्होत्से (८,५१६ मिटर) सबैभन्दा छोटो समयमा आरोहण गर्ने तयारीमा छिन्। उनी सगरमाथा सफलतापूर्वक आरोहण गर्ने पहिलो एकल महिला हुन्।
शनिवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा शेर्पाले ल्होत्सेको बेस क्याम्पबाट शिखरसम्म पुगेर पुनः बेस क्याम्प फर्किने गरी २४ घण्टाभित्र आरोहण सम्पन्न गर्ने लक्ष्य राखेको बताइन्।
५१ वर्षीय शेर्पाले यो अभियान आफ्ना स्वर्गीय बुबा आङ ङिमा शेर्पा र उनका निकट मित्र इमान सिंह गुरुङको सम्झनामा समर्पित गरेको बताइन्। “मेरो बुबाको ल्होत्से चढ्ने सपना थियो, जुन पूरा हुन सकेन। त्यसैले म उहाँको सपना पूरा गर्न ल्होत्से आरोहण गर्न लागेकी हुँ,” उनले भनिन्।
उनले आफ्नो बुबा र इमान गुरुङको तस्बिर शिखरसम्म लैजाने पनि जानकारी दिइन्। उनका बुबा आङ ङिमा शेर्पा वरिष्ठ आइसफल डाक्टर पनि थिए। शेर्पाले आफ्नो अभियानमार्फत विश्वभरका महिलालाई जीवनका कठिन परिस्थितिहरू पार गर्दै आफ्नो लक्ष्य हासिल गर्न प्रेरित गर्ने उद्देश्य रहेको बताइन्। “यदि मैले यो उमेरमा यस्तो लक्ष्य हासिल गर्न सक्छु भने अन्य महिलाहरूले पनि आफ्नो सपना पूरा गर्न सक्छन् भन्ने सन्देश दिन चाहन्छु,” उनले भनिन्।
फूर दिकी शेर्पाले आगामी अप्रिल २२ तारिख काठमाडौँबाट लुक्ला तर्फ प्रस्थान गर्ने तालिका रहेको जानकारी दिइन्। शेर्पाले सन् २०१९ मे २३ तारिखका दिन नीमा डोमा शेर्पासँगै सगरमाथा सफलतापूर्वक आरोहण गरेकी थिइन्। सोलुखुम्बुको डिंगबोचे निवासी उनले हालसम्म सगरमाथा, अमादब्लम, हिमलुङ हिमाल, आइल्याण्ड पिक (२ पटक), लोबुचे पिक (८ पटक), मेरा पिक, चुलु फार इस्ट, पोकलदे, पाल्दोर पिक आरोहण गरिसकेकी छन्।
हिमलुङ हिमाल र पाल्दोर पिकमा भने उनले महिला टोलीको नेतृत्व गर्दै सफल आरोहण सम्पन्न गरेकी थिइन्। प्रशिक्षणतर्फ उनले खुम्बु क्लाइम्बिङ सेन्टर (केसीसी) बाट बेसिक, एडभान्स तथा डबल एडभान्स तालिम लिएकी छन्। साथै, नेपाल पर्वतारोहण सङ्घ (एनएमए) बाट बेसिक, रक क्लाइम्बिङ लेभल–१ तथा उच्च हिमाली उद्धार (एचएमआरटी) तालिमसमेत प्राप्त गरेकी छन्।