१५ जेष्ठ २०८३, शुक्रबार
Follow Us

लण्डन दूतावासमा एभरेस्ट दिवस: सगरमाथाको गौरवसँगै जलवायु संकटबारे चिन्ता व्यक्त

नेपालब्रिटेन संवाददाता
१५ जेष्ठ २०८३, शुक्रबार ०५:१४

लण्डन — बेलायतस्थित नेपाली दूतावासमा “सगरमाथा नेपालको पहिचान र गौरव” भन्ने नाराका साथ एभरेस्ट दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पर्वतारोही, वातावरणविद्, कूटनीतिज्ञ तथा नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक आरोहणको सम्झनासँगै हिमालय क्षेत्रमा बढ्दो जलवायु संकटबारे गम्भीर छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत विपिन दुवाडीले नेपालले हरेक वर्ष मे २९ लाई सन् १९५३ मा तेन्जिङ नोर्गे र एडमण्ड हिलारी द्वारा गरिएको सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा एभरेस्ट दिवसका रूपमा मनाउँदै आएको बताए। उनले नेपाल र बेलायतबीच पर्वतारोहणको ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै सगरमाथाको अन्तरराष्ट्रिय पहिचान विस्तार, दिगो पर्यटन प्रवर्द्धन तथा दुई देशबीचको मित्रता सुदृढ बनाउन बेलायती पर्वतारोहीहरूको योगदान महत्वपूर्ण रहेको बताए।

उनले हिमालहरू नेपालको जीवनरेखा भएको उल्लेख गर्दै हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अत्यन्त चिन्ताजनक रहेको बताए। जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न अन्तरराष्ट्रिय समुदायले थप प्रभावकारी पहल गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा बीबीसी का विश्व वातावरण संवाददाता नवीन सिंह खड्का ले “जलवायु संकट र हिमालयको चुनौती” विषयमा प्रस्तुति दिँदै जलवायु परिवर्तनले हिमालय क्षेत्रमा तीव्र असर पारिरहेको बताए। विज्ञानले सुझाएका उपाय र विश्वले अपनाइरहेको व्यवहारबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै उनले युद्ध, बढ्दो सैन्य खर्च तथा त्यसबाट हुने उत्सर्जनले जलवायु अभियान कमजोर बनाइरहेको टिप्पणी गरे।

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र को अध्ययन उद्धृत गर्दै उनले सन् २००० यता हिन्दुकुश–हिमालय क्षेत्रका हिमनदीहरू दोब्बर गतिमा पग्लिरहेको जानकारी दिए। हिमताल विस्फोटको जोखिम, बदलिँदो मनसुन, अत्यधिक वर्षा, हिमपातमा कमी तथा एभरेस्ट आधार शिविर आसपास बढ्दो वर्षाका कारण पर्वतारोहण थप जोखिमपूर्ण बन्दै गएको उनले बताए। उनले जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने र विकासशील मुलुकका लागि पर्याप्त जलवायु वित्त आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा सगरमाथा आरोहण गर्ने पहिलो बेलायती महिला रेबेका स्टेफेन्स ले सगरमाथा आरोहणपछि मानिसहरू कुनै न कुनै रूपमा परिवर्तन भएर फर्कने बताइन्। हिमालयको वातावरण र स्थानीय समुदायसँगको सम्बन्धले नेपालप्रति आफ्नो लगाव अझ गहिरो बनाएको उनले उल्लेख गरिन्। हिमालयन ट्रस्ट मार्फत हिमाली क्षेत्रमा शिक्षा तथा आधारभूत स्वास्थ्य सेवामा सहयोग गरिरहेको जानकारी दिँदै उनले हिमतालहरूको अवस्थाबारे अनुसन्धान तथा निगरानी भइरहेको बताइन्।

त्यसैगरी, दुवै खुट्टा घुँडामाथिबाट गुमाएका पूर्व गोर्खा सैनिक तथा पर्वतारोही हरि बुढा मगर ले विश्वका सातै महादेशका सर्वोच्च शिखर आरोहण गरेर अपाङ्गता भएका व्यक्तिहरूको क्षमता र अधिकारबारे जनचेतना फैलाउने प्रयास गरिरहेको बताए। विश्वमा ठूलो संख्यामा रहेका अपाङ्गता भएका व्यक्तिहरूले उचित सहयोग पाए असाधारण कार्य गर्न सक्ने उल्लेख गर्दै उनले नेपालले आफ्ना हिमालमार्फत जलवायु परिवर्तनबारे विश्वलाई सचेत बनाउन सक्ने धारणा राखे। साथै विश्व शान्तिका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता उनले औंल्याए।

कार्यक्रम नेपाली दूतावासका द्वितीय सचिव सञ्जोग राईले सञ्चालन गरेका थिए। कार्यक्रममा दुई दर्जनभन्दा बढी सगरमाथा आरोहीहरूको सहभागिता रहेको थियो।

धेरै पढिएको