लन्डन । गत आइतबार (७ जुन) ) मा आशफोर्डमा ‘गोर्खा वाक’ भव्य रुपमा सम्पन्न भएको छ । गोर्खा पिस फाउन्डेशनद्वारा आशफोर्डस्थित ग्रेट चार्ट प्लेइङ्ग फिल्ड्समा आयोजित १३ औं वार्षिक गोर्खा पदयात्रामा यस पटक झन्डै ३,००० जनाको सहभागिता रहेको फाउन्डेशनका संस्थापक अध्यक्ष भीमराज तुम्वाहाम्फेले बताए।
ब्रिटिश सेनाले प्रदान गर्ने सर्वोच्च पदक ‘भिक्टोरिया क्रस’ प्राप्त १३ जना भूतपूर्व गोर्खा सैनिकहरुको सम्झनामा उक्त पदयात्रा आयोजना गरिंदै आएको छ। गोर्खा वाकमा नौमती बाजाका साथै साकेला र के लांग परम्परागत नृत्य पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै आशफोर्डका सांसद सोजन जोसेफले गोर्खा समुदायको जीवन्त एकीकरण र बृहत् ब्रिटिश समाजमा अमूल्य योगदानको प्रशंसा गरे। त्यस्तै गोर्खा जस्टिस क्याम्पेनसंग आबद्ध पिटर क्यारोलले बेलायत र गोर्खाहरू बीचको ऐतिहासिक सम्बन्धको बारेमा चर्चा गर्दै निरन्तर सहयोग र पारस्परिक सम्मानको महत्त्वलाई जोड दिए।

१३ जना गोर्खा भिसीहरूको सम्झनामा राखिएको १३ किलोमिटर दौड प्रतियोगितामा पुरुष तथा महिला दुवै विधामा नयाँ रेकर्ड कायम भएको छ। पुरुषतर्फ प्रथम स्थान रोबर्ट लाटाला (समय ४९ मिनेट ८ सेकेन्ड) द्वितीय स्थान फ्र्याङ्क रेग्निगियो (समय ५३ मिनेट १३ सेकेन्ड) र तृतीय स्थान सगीन राई (समय ५९ मिनेट ६ सेकेन्ड)ले पाए ।
त्यस्तै महिला विधामा प्रथम स्थान मन्दा गुरुङ (समय ५७ मिनेट ४५ सेकेन्ड) द्वितीय स्थान पुनम गुरुङ (समय १ घण्टा ११ मिनेट १० सेकेन्ड) र तृतीय स्थान जुन्तारा राई (समय १ घण्टा १३ मिनेट १० सेकेन्ड)ले हासिल गरे । गोर्खा वाकका विजेताहरुलाई पुरस्कार वितरण पछि सांस्कृतिक महोत्सव आयोजना गरिएको थियो।

नेपालबाट आएका राष्ट्रिय कलाकारहरु सोनी कुँवर, नीरा थापा मगर, पूनम गुरुङ तथा गोबिन पुनले लोकप्रिय गीतहरु गाउँदै दर्शकहरुलाई नचाएका थिए भने शिवदास गुरुङ लगायतका कलाकारले नृत्य प्रस्तुत गरेका थिए। मौसम अनुकूल नभएकाले हट एअर बलुन भने नउडाइएको आयोजकले जनाए। कार्यक्रम मा सहभागिता जनाउन स्कटल्याण्डबाट बिग मोटरबाइक राइडर्सहरु पनि आएका थिए। लन्डन र आशफोर्डमा कार्यालयहरु रहेको ए स्टार मोर्गेजेज लगायत विभिन्न कम्पनीहरुले उक्त पदयात्राको प्रायोजन गरेका थिए।
अध्यक्ष तुम्वाहाम्फेले गोर्खा वाक सफल पार्न सघाउने सम्पूर्ण स्वयंसेवकहरू, प्रायोजकहरू, स्थानीय अधिकारीहरू, कलाकारहरू र १३ औं गोर्खा पदयात्रालाई अविस्मरणीय कोसेढुङ्गा बनाउने सम्पूर्ण सहभागीहरुलाई हार्दिक धन्यवाद दिएका छन् ।