काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा उनले निवर्तमान सभापति डा. अच्युतम लामिछानेलाई दुई मतले पराजित गर्दै प्रदेश नेतृत्वमा निर्वाचितभएका हुन् ।
रास्वपा केन्द्रीय निर्वाचन विभागका संयोजक भुवन केसीका अनुसार अर्यालले ४१६ मत प्राप्त गर्नुभएको छ भने लामिछानेले ४१४ मत प्राप्त गरेका थिए ।
रास्वपाको बागमती प्रदेश अधिवेशन जेठ २६ गते हेटौँडामा उद्घाटन भएको थियो । नेतृत्व चयनसम्बन्धी विवादका कारण रोकिएको निर्वाचन प्रक्रिया शनिबार काठमाडौँको धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा सम्पन्न गरिएको हो ।
लुम्बिनीमा घिमिरे निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा शालिकराम घिमिरे निर्वाचित भएका छन् । पहिलो चरणको निर्वाचनमा सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएकोमा शालिकराम घिमिरेले सबैभन्दा बढी १९९ मत पाएका थिए ।
उनले ५१ प्रतिशत मत नपाएपछि निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेसँग दोस्रो चरणको निर्वाचन गर्ने भनिएको थियो । तर, गोपालले शालिकरामलाई समर्थन जनाएपछि निर्वाचन नगरी शालिकरामलाई सभापतिमा निर्वाचित भएको घोषणा गरिएको रास्वपा नेता डा. बुद्धिप्रसाद शर्माले बताए ।
सभापति पदका लागि ६ जना बीच भएको चुनावमा रुपन्देहीका शालिकराम घिमिरेले १९९, अर्घाखाँचीका गोपाल घिमिरेले ८७, रुपन्देहीका गणेश पौडेलले ८४, बाँकेका डा. राजकुमार सुवेदीले ८०, रुपन्देहीकी मञ्जु भुसालले ७१ र रुपन्देहीका मधुप्रसाद अर्यालले सबैभन्दा कम १९ मत प्राप्त गरेका थिए ।