८ असार २०८३, सोमबार
Follow Us

बिष्णु पाैडेलकाे पक्राउ प्रतिशाेधपुर्ण र स्टन्ट मात्रै, प्रतिबाद गर्छाैंः एमाले

नेपालब्रिटेन संवाददाता
८ असार २०८३, सोमबार १५:५३

काठमाडौं । नेकपा एमालले पार्टी उपाध्यक्ष बिष्णुप्रसाद पौडेलको पक्राउलाई राजनीतिक प्रतिशोध भनेर टिप्पणी गरेको छ। सम्पत्ति शुद्दीकरणको मुद्दामा आज सुर्खेतवाट पुर्व अर्थमन्त्रीसमेत रहेका पौडेललाई पक्राउ गरे पछि एमालेले सो टिप्पणी गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै, जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उनकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको जनाएको छ ।

‘सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो ‘स्टन्ट’ र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको छ,’ उनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘सत्ताको उन्मादमा गरिएको यस प्रकारको अधिनायकवादी कदमको हाम्रो पार्टी डटेर सामना गर्नेछ ।’

यस्ताे छ बिज्ञप्तिः
नेकपा (एमाले) का उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको छ, त्यसप्रति हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ ।

नेकपा (एमाले) सदैव कानुनी राज्य‚ सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ । वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेका श्रृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यान्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ ।

उपाध्यक्ष पौडेल आजै सुर्खेतको कार्यक्रम सकेर भोलि नै काठमाडौँ फर्कने पूर्वनिर्धारित कार्यतालिका थियो । विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै, जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको छ ।

सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो ‘स्टन्ट’ र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको छ। सत्ताको उन्मादमा गरिएको यस प्रकारको अधिनायकवादी कदमको हाम्रो पार्टी डटेर सामना गर्नेछ।

वर्तमान सरकार अलोकतान्त्रिक‚ सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख छ । हामी सरकारलाई चेतावनी दिन चाहन्छौँ, विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस् ।

सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी कृयाकलापका विरुद्ध सामूहिक प्रतिवाद गर्न हामी सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन हार्दिक आह्वान गर्दछु ।

केपी शर्मा ओली
अध्यक्ष

धेरै पढिएको