काठमाडौँ। अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ समूह चरणको खेल अन्तिम मोडमा पुगेको छ । यस पटक विस्तारित ढाँचाअनुसार १२ समूहमा विभाजित ४८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । तीमध्ये ३२ टोलीले मात्र नकआउट चरणमा स्थान बनाउनेछन् ।
कसरी छनोट हुँदै छन् ३२ टोली
प्रत्येक समूहबाट शीर्ष दुई स्थान हासिल गर्ने टोली स्वतः नकआउट चरणमा पुग्नेछन् । यसअनुसार १२ समूहबाट समूह विजेता र उपविजेता गरी २४ टोली अन्तिम ३२ मा प्रवेश गर्नेछन् ।
बाँकी आठ स्थानका लागि १२ वटै समूहमा तेस्रो स्थानमा रहने टोलीबिच प्राप्त अंकबीच प्रतिस्पर्धा हुनेछ । तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने आठ टोलीले नकआउट चरणमा स्थान सुरक्षित गर्नेछन् ।
उत्कृष्ट आठ टोली कसरी छुटाइन्छ ?
तेस्रो स्थानमा रहेका टोलीहरूको छनोट गर्दा सबैभन्दा पहिले अङ्कको आधारमा मूल्याङ्कन गरिन्छ । दुई वा दुईभन्दा बढी टोलीको अङ्क बराबर भएमा पहिलो ‘टाई-ब्रेकर’का रूपमा उनीहरूबिचको प्रत्यक्ष भेट (हेड–टु–हेड) को नतिजा हेरिन्छ ।
त्यसपछि पनि बराबरी कायम रहे क्रमशः गोल अन्तर, गरेको गोल सङ्ख्या, पहेँलो तथा रातो कार्डका आधारमा निर्धारण हुने ‘टिम कन्डक्ट स्कोर’ (फेयर प्ले अङ्क) लाई आधार बनाइन्छ ।
यी सबै मापदण्डबाट पनि टोलीहरू छुट्टाउन नसकिए अन्तिम विकल्पका रूपमा जुन महिनामा सार्वजनिक गरिएको फिफा वरीयतालाई आधार मानिनेछ ।
यसरी छनोट भएका उत्कृष्ट आठ टोली र समूह चरणबाट सिधै छनोट भएका २४ टोली गरी कुल ३२ टोलीले विश्वकपको नकआउट चरणमा प्रतिस्पर्धा गर्नेछन् ।