१२ असार २०८३, शुक्रबार
Follow Us

‘चमेलीको पोइ’ पोस्टरमा त्रिपाठीको बिचित्र रुप

नेपालब्रिटेन संवाददाता
१२ असार २०८३, शुक्रबार २०:५६

एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शुक्रबार सार्वजनीक पोस्टरमा चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीलाई बिचित्र अबस्थामा प्रस्तुत गरिएको छ । प्रेम चरो उपनामले समेत चिनिने त्रिपाठी डेढ दशकअघिसम्म फिल्म अभिनयमा निकै ब्यस्त थिए । एकाएक अमेरिका उडेपछि उनी अब यही फिल्मबाट पुनः दर्शकमाझ आउदैछन् ।
हाँस्य कलाकारितामा निकै जमेका उनी ‘चमेलीको पोइ’ को सेकेन्ड लुक्स पोस्टरमा अर्धनग्न अबस्थामा छन् । उनको मुहारमा लात्तीमुक्का बज्रीएर लागेको चोटका निसानीहरु देखिएका छन् भने कपडा च्यातिएको तथा कुटाइ खाएर भागीरहेकोजस्तो स्थिति उनको देखिन्छ ।
फस्र्टलुक पोस्टरबाटै दर्शकको ध्यान खिचेको फिल्मको अहिलेको पोस्टरमा त्रिपाठीको अर्धनग्न स्वरुपका साथमा फिल्मका प्रमुख कलाकार–सुरक्षा पन्त,मुकुन भुसाल,विल्सन बिक्रम राई,रामनारायण उपाध्याय,सुदिप कुँवर र उमेश राईलाई समेटिएको छ । यीबाहेक फिल्ममा प्रेमदेव गिरी,रबिन्द्र झा,अंशु महर्जन,खडकबहादुर पुन (खबपु),रजनी गुरुङ,सुनीता सापकोटा,गणेश गौतम,धनलक्ष्मी बोहरा,श्रेया नारायण,अनुष्का नारायण,मिना आरएल शाह,रितु मल्ल ठकुरीलगायतको अभिनय छ ।
सार्वजनीक प्रदर्शनमा आउनुभन्दा केही साताअघि अर्थात ९ अगस्तमा अमेरिकाको टेक्सासमा बिशेष शो आयोजना गर्न लागीएको फिल्मको कथा पनि निर्देशक बोहरा स्वयम्को हो भने पटकथा र सम्वाद लेखनमा उनलाई शिवम अधिकारीले सघाएका छन् । धन लक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्मित फिल्मको निर्माता रामनारायण उपाध्याय र सुनीता सापकोटा छन् । कार्यकारी निर्मातामा उदय बिक्रम राणा,रितु मल्ल ठकुरी र कपील आचार्य छन् भने धनकुमारी श्रेष्ठ लाइन प्रोडयुसर छिन् ।
सुदिप कुँवर,सुमित्रा थापा,नारायण त्रिपाठी,यमप्रसाद ओली र प्रदिपकुमार सापकोटा सहनिर्माता रहेको फिल्म मुस्ताङ,पोखरा र काठमाडौंमा खिचिएको हो । फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

धेरै पढिएको