काठमाडौँ । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको जिप दुर्घटनामा मृत्यु भएको छ ।
स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु प्र ०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको नाममा रहेको बोलेरो पिकअप जिप स्वर्गद्वारी नगरपालिका वडा नं २ बाङ्गेसल्लामा दुर्घटना हुँदा ५० वर्षीय राना मगरको मृत्यु भएको हो ।
शनिबार साँझ पौने ५ बजेतिर उपप्रमुख राना आफैँले चलाएको जिप सडकदेखि करिब ६ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिपमा उनी एक्लै सवार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई अचेत र गाडीले च्यापिएको अवस्थामा घटनास्थलबाट निकालेका थिए । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।