१८ असार २०८३, बिहीबार
Follow Us

विश्वकप २०२६ : अन्तिम १६ मा १० टोलीले बनाए स्थान

नेपालब्रिटेन संवाददाता
१८ असार २०८३, बिहीबार ०३:५५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ का खेलहरू अन्तिम चरणमा पुगेका छन्। हालसम्म १० टोलीले अन्तिम १६ (राउन्ड अफ १६) मा स्थान सुरक्षित गरिसकेका छन् भने बाँकी ६ स्थानका लागि हुने खेलले राउन्ड अफ १६ को समीकरण पूरा हुनेछ।

हालसम्म फ्रान्स, पाराग्वे, क्यानडा, मोरक्को, ब्राजिल, नर्वे, मेक्सिको, इङ्गल्यान्ड, अमेरिका र बेल्जियमले अन्तिम १६ मा स्थान बनाएका छन्। जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पारेको पाराग्वेले अब फ्रान्ससँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

स्विडेनलाई सहज रूपमा हराएको फ्रान्स उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ। दक्षिण अफ्रिकामाथि कठिन जित निकालेको क्यानडाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सनसनी मच्चाएको मोरक्कोसँग खेल्नेछ।

यस्तै, जापानलाई हराएको ब्राजिल र आइभोरी कोस्टलाई पाखा लगाएको नर्वेबीच पनि रोमाञ्चक भिडन्त हुने पक्का भएको छ। इक्वेडरलाई पराजित गरेको मेक्सिकोले डीआर कंगोलाई हराएको इङ्गल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने बोस्निया एन्ड हर्जेगोभिनालाई हराएको अमेरिका र सेनेगलमाथि कठिन जित निकालेको बेल्जियम आमनेसामने हुनेछन्।

अब राउन्ड अफ ३२ अन्तर्गत बाँकी रहेका ६ खेलबाट अन्तिम १६ का बाँकी ६ टोलीको टुङ्गो लाग्नेछ। अब स्पेन–अस्ट्रिया, पोर्चुगल–क्रोएसिया र स्विट्जरल्यान्ड–अल्जेरियाबीच अनि अर्जेन्टिना–केप भर्डे, अस्ट्रेलिया–इजिप्ट तथा कोलम्बिया–घानाबीचको प्रतिस्पर्धा बाकी छ।

यी खेलका विजेताले अन्तिम १६ मा स्थान बनाउँदै प्री क्वाटरफाइनलको समीकरण पूरा गर्नेछन्। उपाधिका दाबेदार टोलीसँगै केही अप्रत्याशित टोलीले पनि उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो चरणमा स्थान बनाएका कारण विश्वकपको रोमाञ्चकता थप चुलिएको छ।

धेरै पढिएको