नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालको नवनिर्वाचित सरकार देशमा विदेशी लगानी भित्र्याउन सक्दो पहल गरिरहेको बताएका छन्।
ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्सद्वारा लन्डनस्थित नेपाली दूतावासमा आयोजित ‘युके-नेपाल बिजनेस एण्ड इन्भेस्टमेन्ट फोरम डिनर’ लाई सम्बोधन गर्दै राजदूत फेनले वर्तमान सरकार गठन हुनासाथ नेपालमा विदेशी लगानी भित्र्याउन थुप्रै नीतिगत निर्णयहरू लिएको बताए। उनले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ल्याएको नयाँ बजेटको प्रशंसा गर्दै नेपाल तथा बेलायतबीच दोहोरो कर हटाउने सम्झौता गर्न प्रयास भइरहेको बताए।
कार्यक्रमका प्रमुख वक्ताका रूपमा नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनले नेपालमा लगानीको सम्भावना, व्यापार विस्तारका अवसर तथा दुई देशबीचको आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउने विषयमा धारणा राखेका थिए। उनले नेपाली तथा बेलायती व्यवसायीबीच प्रत्यक्ष संवाद, सहकार्य र लगानीका नयाँ अवसर पहिचान गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे।
बेलायतकी इन्डो प्यासिफिक तथा समानता मन्त्री सीमा मलहोत्राले हालै नेपालको भ्रमण गरेको उल्लेख गर्दै राजदूत फेनले सूचना प्रविधि तथा एआइको क्षेत्रमा नेपालीहरूले विश्व बजारमा सेवा प्रदान गर्दै आएको जनाए। उनले युके-नेपालबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्न निरन्तर प्रयास गरेकोमा ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्सलै धन्यवाद दिए।
बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाल–बेलायतबीचको द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउन दूतावास निरन्तर प्रयासरत रहेको बताए। उनले नयाँ सरकारका नीतिहरूबारे चर्चा गर्दै ब्रिटिश लगानीकर्ताहरूलाई कुनै पनि समस्या परे सहजीकरण गर्न दूतावास तयार रहेको जनाए।
ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष बिराज भट्टले नेपाल र बेलायतबीचको व्यापारिक सम्बन्धलाई अझ सुदृढ बनाउन संस्थाले काम गर्दै आएको जनाए। उनले नेपालमा लगानी गर्न अहिले उपयुक्त वातावरण रहेको जनाउँदै ब्रिटेन स्थित नेपाली डायसपोराले यसमा पहल गरिरहेको पनि बताए।
कार्यक्रमको सञ्चालन ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष इन्द्र गिरीले गरेका थिए।
फोरममा नेपाल र बेलायतका कूटनीतिक प्रतिनिधि, व्यवसायी, लगानीकर्ता, च्याम्बरका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
लन्डनस्थित नेपाली दूतावास तथा ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्सद्वारा शुक्रबार एक सेमिनार आयोजना गरी दुई देशबीचको द्विपक्षीय व्यापार विस्तार, लगानी प्रवर्द्धन, व्यवसायिक सञ्जाल विस्तार तथा बेलायतमा रहेका नेपाली समुदायको आर्थिक भूमिकालाई थप प्रभावकारी बनाउने बारे छलफल गरिने जनाइएको छ।