काठमाडौं । फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको छ । शनिबार बिहान राउन्ड अफ ३२ का सबै खेल सकिएसँगै अन्तिम १६ टोलीहरूको टुङ्गो लागेको हो ।
४ पटकको पूर्वविजेता जर्मनी, गत संस्करणमा तेस्रो भएको क्रोएसिया, दाबेदार मानिएको नेदरल्यान्ड्स, एसियन पावरहाउस जापान, अफ्रिकन डार्क हर्स सेनेगलजस्ता टोली राउन्ड अफ ३२ बाटै बाहिरिएका छन् ।
साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, चौथो भएको मोरक्को, युरोपका शक्ति स्पेन, इंग्ल्यान्ड र बेल्जियम सहित १६ राष्ट्र अब अन्तिम आठका लागि प्रतिस्पर्धा गर्नेछन् ।
राउन्ड अफ ३२ को खेलमा सहआयोजक क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो । ब्राजिलले जापानलाई पराजित गर्दा जर्मनी पाराग्वेसँग टाइब्रेकरमा पराजित भयो ।
नेदरल्यान्ड्सलाई मोरक्कोले टाइब्रेकरमा पराजित गर्दा नर्वेले आइभरी कोस्टलाई अनि फ्रान्सले स्वीडेनलाई पराजित गरे ।
मेक्सिकोले इक्वेडरलाई पराजित गर्यो, इंग्ल्यान्डले कङ्गोलाई अनि बेल्जियमले सेनेगललाई पराजित गर्यो । अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनाको चुनौती समाप्त गर्यो ।
स्पेनले अस्ट्रियालाई पराजित गर्दा पोर्चुगलले क्रोएसिया अनि स्विट्जरल्यान्डले अल्जेरियालाई पराजित गर्यो ।
इजिप्टले अस्ट्रेलियालाई टाइब्रेकरमा पराजित गर्यो । अर्जेन्टिनाले केप भर्डेलाई अनि कोलम्बियाले घानालाई पराजित गरेर राउन्ड अफ १६ मा स्थान पक्का गरे ।