काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ का खेलहरू अन्तिम चरणमा पुगेसँगै क्वाटरफाइनलको समीकरण लगभग पूरा भएको छ।
आज बिहान सम्पन्न दुई खेलपछि ६ टोलीले अन्तिम आठमा स्थान सुरक्षित गरिसकेका छन् भने तीनवटा क्वाटरफाइनल भिडन्त पनि तय भएका छन्। आज बिहान भएका खेलमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो।
अर्को खेलमा बेल्जियमले घरेलु टोली संयुक्त राज्य अमेरिकालाई स्तब्ध पार्दै अन्तिम आठमा प्रवेश गर्यो। यससँगै स्पेन र बेल्जियमबीच जुलाई ११ मा हुने क्वाटरफाइनल भिडन्त पक्का भएको छ। यसअघि नै पहिलो क्वाटरफाइनलमा फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने तय भइसकेको छ।
फ्रान्सले पाराग्वेलाई तथा मोरक्कोले क्यानडालाई हराउँदै अन्तिम आठको यात्रा तय गरेका हुन्। यी दुई टोलीबीचको खेल जुलाई १० मा हुनेछ। तेस्रो क्वाटरफाइनलमा इङ्गल्याण्ड र नर्वे आमनेसामने हुनेछन्। इङ्गल्याण्डले मेक्सिकोलाई तथा नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेका हुन्।
यी दुई टोलीबीचको खेल जुलाई १२ मा हुनेछ। अब क्वाटरफाइनलको अन्तिम एक स्थानका लागि दुई खेल मात्र बाँकी छन्। आज राति ९:४५ बजे अर्जेन्टिना र इजिप्टबीच प्रतिस्पर्धा हुनेछ भने भोलि बिहान १:४५ बजे स्विट्जरल्याण्ड र कोलम्बियाबीच भिडन्त हुनेछ।
यी दुई खेलका विजेता टोलीहरूबीच जुलाई १२ मा चौथो तथा अन्तिम क्वाटरफाइनल खेल हुनेछ। त्यससँगै विश्वकप २०२६ का अन्तिम आठ टोलीको पूरा समीकरण तयार हुनेछ र सबै टोलीले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्।