विराटनगर । मोरङको ग्रामथानमा सोमबार राति महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।
ग्रामथान गाउँपालिका–६ झोवावनी बस्ने कपिल खवासकी पत्नी २१ वर्षीया सीमा राजवंशीको हत्या गरेको आरोपमा उनकै देवर २१ वर्षीय सौचन राजवंशी पक्राउ परेका हुन् । उनले घाँटीमा खुकुरी प्रहार गरेर सीमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार सीमाको घाँटी छिनेको अवस्थामा शव फेला परेको थियो । उनले घरको आँगनमा हत्या गरेपछि घिसार्दै शौचालयनजिक लगेर शव फालेका थिए । सौचनले भाउजूको हत्या गर्नुको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।