२४ असार २०८३, बुधबार
Follow Us

बेलायतमा यौन हिंसा र हत्याको धम्की दिने नेपालीलाई ६ वर्ष कैद

नेपालब्रिटेन संवाददाता
२४ असार २०८३, बुधबार २२:००

लण्डन — बेलायतको एक अदालतले यौन हिंसा तथा हत्याको धम्की दिएको अभियोगमा एक नेपाली युवकलाई दोषी ठहर गर्दै ६ वर्षको कैद सजाय सुनाएको छ। क्याम्बरली निवासी २२ वर्षीय सुसिल पुनले एक महिलालाई हत्या गर्ने धम्की दिनुका साथै उनका परिवारलाई धम्कीपूर्ण सन्देश पठाएको पुष्टि भएको हो।

सन् २०२५ को जुलाईमा उनका परिवारले सुसिल पुन हराएको भन्दै प्रहरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा प्रहरीले उनको मोबाइल फोनमा भेटिएका सन्देशहरू अत्यन्तै चिन्ताजनक रहेको पत्ता लगाएको थियो। ती सन्देशहरू उनले कलेजको वार्षिक कार्यक्रममा देखेकी एक महिलातर्फ लक्षित गरेका थिए, जसप्रति उनले काल्पनिक सम्बन्ध रहेको विश्वास गरेका थिए।

पुन र ती महिला एउटै कलेजमा सोही वर्ष अध्ययनरत थिए। तर ती महिला भने पुनको यस्तो आसक्ति र व्यवहारबारे पूर्ण रूपमा अनभिज्ञ थिइन्, जबसम्म प्रहरीले उनलाई सम्पर्क गरेको थिएन।

३० जुनमा गिल्डफोर्ड क्राउन अदालतमा पुनले डर पैदा गर्ने उद्देश्यले गरिएको स्टकिङ तथा हैरानीसम्बन्धी आरोप स्वीकार गरेका थिए, जसका आधारमा उनलाई दोषी ठहर गरिएको हो।

सजायसँगै पुनलाई रिहा भएपछि पनि लागू हुने गरी दुई वर्षको ‘स्टकिङ प्रोटेक्सन अर्डर’ जारी गरिएको छ। साथै उनलाई २२८ पाउण्ड ‘भिक्टिम सरचार्ज’ तिर्न पनि आदेश दिइएको छ।

अनुसन्धान अधिकृत डीसी क्विन पारीले पुनको व्यवहारलाई “अत्यधिक आसक्त, जिद्दी, अनावश्यक र दोहोरिरहने” भन्दै यसले गम्भीर खतरा उत्पन्न गरेको उल्लेख गरे।

पीडित महिलाका बुबाले यस घटनाले आफ्नी छोरीको मानसिक अवस्था, आत्मनिर्भरता र आत्मविश्वासमा गम्भीर असर पारेको बताएका छन्।

सर्रे प्रहरीले महिलामाथि हुने हिंसा नियन्त्रण गर्न आफूहरू प्रतिबद्ध रहेको जनाउँदै यस्ता घटनाका पीडितलाई निरन्तर सहयोग उपलब्ध गराइने जनाएको छ।

धेरै पढिएको