टोकियो । एउटा सामान्य विषयमा उत्पन्न भएको रिस कतिसम्म बढ्यो भने एउटै घरमा बस्ने व्यक्तिले अर्को व्यक्तिको ओठ सुई र धागोले सिइ दिएका छन् ।
जापानमा हालै ठ्याक्कै यस्तै घटना घटेको छ। दुई महिला संलग्न रहेको यस घटनाले सबैलाई स्तब्ध बनाएको छ। पीडित महिला घरबाट भागेर नजिकैको एउटा पसलसम्म पुग्न सफल भइन् र त्यहाँ उनले कागजको टुक्रामा केवल दुई शब्द लेखिन्, ‘कृपया मद्दत गर्नुहोस्।’ त्यही सन्देश उनको ज्यान बचाउने कारण बन्यो।
जापानी प्रहरीले टोकियो नजिकै एक महिलालाई आफ्नै घरमा सँगै बस्ने अर्की महिलाको ओठ सिलाएर बन्द गरि दिएको आरोपमा पक्राउ गरेको छ। स्थानीय प्रहरीका वरिष्ठ अधिकारी माकोतो हियामाले बताए अनुसार कोगा सहरस्थित घरबाट भागेर नजिकैको पसलमा पुगेकी ४२ वर्षीया पीडित महिलाले त्यहाँ ‘कृपया मद्दत गर्नुहोस्’ लेखिएको कागजको टुक्रा देखाएकी थिइन्।
कोगा सहर जापानको इबाराकी प्रिफेक्चरमा पर्दछ। प्रिफेक्चरल प्रहरीका प्रवक्ताका अनुसार त्यसपछि प्रहरीले कुटपिटको आरोपमा ४९ वर्षीया मासाए साकुराइलाई पक्राउ गरेको छ।
प्रवक्ताले बताए अनुसार यो घटना गत जुन २९ मा भएको थियो, जो हालै सार्बजनिक भएको छ । उक्त घटनाको समयमा साकुराई पीडितसँगै बस्दै आएकी थिइन्। उनले आफ्नी घर सहयात्रीको ओठ सुई र धागो प्रयोग गरेर सिइदिएकी थिइन्। उनीहरूले आरोपी महिलालाई सोमबार पक्राउ गरिएको कुरा पनि उल्लेख गरेका छन ।
प्रहरी अधिकारी हियामाका अनुसार प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ, समा घरमा अरू कोही बस्थे वा बस्दैनथे भन्ने विषय पनि समावेश छ, यद्यपि, यस सम्बन्धमा अहिलेसम्म कुनै पुष्टि भएको जानकारी प्राप्त भएको छैन।
सार्वजनिक प्रसारण संस्था एनएचकेको समाचार अनुसार घाइते महिलाले प्रहरीलाई बताए अनुसार विवादका कारण आक्रोशित भएकी अर्की महिलाले उनको ओठ सिलाइ दिएकी थिइन्। तर, बिबादको कारण भने अझै खुलेको छैन ।