१८ श्रावण २०८३, सोमबार
Follow Us

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौं महानगरले रोजगारी र निःशुल्क शिक्षा दिने

नेपालब्रिटेन संवाददाता
२७ असार २०८३, शनिबार ०२:३८

काठमाडौं महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।

महानगरका प्रवक्ता नविन मानन्धरले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति महानगर परिवार स्तब्ध भएको बताएका छन्। मुगु जिल्ला घर भई हाल भक्तपुर बस्ने नेपालीले असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा शुक्रबार दिउँसो नेपालीको निधन भएको हो। उनको निधनमा महानगरपालिकाले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

प्रवक्ता मानन्धरले उक्त घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकार, गृह मन्त्रालयले छानबिन समिति गठन गरेको जानकारी प्राप्त भएको र उक्त समितिलाई महानगरले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। छानबिनबाट प्राप्त हुने सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदम चाल्ने पनि महानगरले स्पष्ट पारेको छ।

महानगरले आत्मदाह गरेका नेपालीको परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने जनाएको छ। यस्तै, नेपालीको परिवारका सदस्यलाई रोजगारीको अवसर र उनका सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा कार्यपालिकाको आगामी बैठकबाट विधिमम्मत रूपमा निर्णय गरिने प्रवक्ता मानन्धरले बताए।

महानगरले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन नेपाल सरकारसँगको समन्वय र सहकार्यमा समाधानका उपाय पहिचान गर्न तथा असल अभ्यास विकास गरी कार्यान्वयन गर्न तयार रहेको जनाएको छ।

धेरै पढिएको