२७ असार २०८३, शनिबार
Follow Us

स्थापना दिवसमै फुट्यो पत्रकार महासंघ यूके, निरौलाको अध्यक्षतामा तदर्थ समिति गठन

नेपालब्रिटेन संवाददाता
२७ असार २०८३, शनिबार ०३:४६

लण्डन । नेपाल पत्रकार महासंघ यूके पुनः औपचारिक रूपमा विभाजित भएको छ। शाखाको १५औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार दुई छुट्टाछुट्टै समूहले स्थापना दिवस मनाएका छन्। यसै क्रममा संस्थापक तथा शाखाका सदस्यहरूको भेलाले विपिन निरौलाको अध्यक्षतामा नयाँ तदर्थ समितिको घोषणा गरेको हो।

विगत दुई वर्षदेखिको विवाद समाधानका लागि नेपाल पत्रकार महासंघद्वारा पत्रकार भगिरथ योगीको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न बिमला सेने समूह असफल भएपछि महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यलगायत करिब एक दर्जन केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको उपस्थितिमा नयाँ कार्यसमिति गठन गरिएको हो।

यसैबीच, बिमला सेने नेतृत्वको समूहले अल्डरशटमा छुट्टै कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ। सो कार्यक्रममा वरिष्ठ पत्रकार भगिरथ योगीले संस्थाभित्र रहेका असन्तुष्ट पत्रकारहरूलाई समेट्दै एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

नेपाल प्रहरीका पूर्व डीएसपी शिवजी श्रेष्ठले पत्रकारिताको गरिमा जोगाउन वास्तविक र व्यावसायिक पत्रकारहरूलाई मात्र सदस्यता प्रदान गरिनुपर्ने धारणा राखे। पत्रकार डा. दूत पुन (चिम्खोले काइँला) ले बेलायतमा कार्यरत पत्रकारहरूलाई थप व्यावसायिक बनाउन विभिन्न संघ–संस्थाका अगुवाहरूलाई सहयोगका लागि अपिल गरे।

पत्रकार सम्मानित

स्थापना दिवसका अवसरमा समाजका विभिन्न क्षेत्रमा अनुकरणीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। वरिष्ठ पत्रकार मेजर सोनाम शेर्पालाई ‘वर्ष पत्रकारिता सम्मान २०२६’ प्रदान गरिएको छ।

त्यसैगरी, साहस, दृढ इच्छाशक्ति र प्रेरणादायी योगदानका लागि पर्वतारोही, उत्प्रेरक वक्ता तथा अपाङ्गता अधिकार अभियन्ता डा. हरि बुढा मगरलाई विशेष सम्मान प्रदान गरियो।

नेपाली कला, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा योगदान पुर्‍याएबापत युनिभर्सल पिस फेडेरेसन यूकेकी अध्यक्ष तथा साहित्यकार डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’लाई पनि सम्मानित गरिएको थियो।

यसैबीच, महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यलगायत केन्द्रीय पदाधिकारीहरूको उपस्थितिमा संस्थापन समूहले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले शाखाको एकतामा जोड दिएका थिए।

नवगठित तदर्थ समितिका अध्यक्ष विपिन निरौलाले वरिष्ठ पत्रकार योगीको प्रतिवेदन कार्यान्वयन गर्दै आगामी जनवरीभित्र शाखाको छैटौँ महाधिवेशन सम्पन्न गर्ने जानकारी दिए।

तदर्थ समितिमा वरिष्ठ उपाध्यक्ष संजय कंडेल, उपाध्यक्षहरू कमला रसाइली र खुशी लिम्बु, महासचिव देवी गौतम, सचिव मिलन शर्मा, कोषाध्यक्ष जीवन गाउँले तथा सदस्यहरू विकास न्यौपाने र मन्दीप केसी रहेका छन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासंघका पूर्वअध्यक्षद्धय विपुल पोखरेल, बाला अधिकारी, वरिष्ठ पत्रकार भगिरथ योगी, उपाध्यक्ष उमेद बक्सचन, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, महासचिव दिलीप पौडेल, सचिव रमेश खतिवडा, केन्द्रीय सदस्यहरू ललिता कुमारी शाह, भूपराज बस्याल, केबी राना, बेलायत शाखाका पूर्व वरिष्ठ उपाध्यक्ष श्याम लुइटेल, ग्रीनविच काउन्सिलका पूर्व मेयर जीत रानाभाट, गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, समाजसेवी सुरेश गौतम तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेका पूर्व महासचिव खुशी लिम्बुलगायतले शुभकामना व्यक्त गरेका थिए।

शाखाका संस्थापक बालमुकुन्द जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थापक सदस्य विपिन निरौलाले गरेका थिए भने स्वागत मन्तव्य कमला रसाइलीले राखेकी थिइन्।


धेरै पढिएको