काठमाडौँ । मलेसियामा कार्यरत नेपाली नागरिकले अब आफ्नो राहदानी आफैँसँग राख्न पाउने भएका छन्। क्वालालम्पुरस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै मलेसियामा रहेका सबै नेपालीलाई राहदानी सुरक्षित रूपमा आफ्नै साथमा राख्न आग्रह गरेको हो।
मलेसियाको कानुनी व्यवस्था पालना गर्न तथा आवतजावतका क्रममा उत्पन्न हुन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले दूतावासले यस्तो आग्रह गरेको जनाएको छ। दूतावासले मलेसियामा रहेका रोजगारदाताहरूलाई समेत नेपाली श्रमिकको राहदानी उनीहरूकै नियन्त्रणमा रहने व्यवस्था सुनिश्चित गर्न अनुरोध गरेको छ।
मलेसियाको कानुनअनुसार श्रमिकको सहमति नलिई वा कानुनी आधारबिना रोजगारदाता वा अन्य पक्षले राहदानी आफ्नो नियन्त्रणमा राख्नु गैरकानुनी हुने दूतावासले स्पष्ट पारेको छ।
कुनै रोजगारदाता वा अन्य व्यक्तिले श्रमिकको इच्छा विपरीत राहदानी राखेको अवस्थामा सम्बन्धित श्रमिकलाई नेपाली राजदूतावासमा जानकारी गराउनसमेत आग्रह गरिएको छ। दूतावासको यो कदमले मलेसियामा कार्यरत नेपाली श्रमिकको व्यक्तिगत कागजातमाथिको पहुँच र सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्य राखेको छ।
