३१ असार २०८३, बुधबार
Follow Us

नेपाली राजदूतावास अबुधाबीमा भानुजयन्ती मनाइयो

नेपालब्रिटेन संवाददाता
३१ असार २०८३, बुधबार ००:०४

लण्डन । २१३ औं भानुजयन्तीको अवसरमा नेपाली राजदूतावास अबुधाबीले तनहुँ सेवा समाज यूएईको सहकार्यमा २०८३ असार २८ गते एक विशेष साहित्यिक कार्यक्रमको आयोजना गरेको छ। “खुल्ला रचना वाचन तथा कृति लोकार्पण” शीर्षकमा आयोजित उक्त कार्यक्रम दूतावास परिसरमै सम्पन्न भएको हो।

कार्यक्रम पानसमा दीप प्रज्वलन, राष्ट्रियगान तथा राष्ट्रिय विभूति स्वर्गीय आदिकवि भानुभक्त आचार्यको तस्वीरमा माल्यार्पण गरी सुरु गरिएको थियो। कार्यक्रममा महामहिम राजदूत, राजदूतावासका कूटनीतिक कर्मचारीहरू तथा उनीहरूका परिवारका सदस्यहरू, यूएईस्थित विभिन्न नेपाली संघसंस्था—नेपाल एसोसिएसन, एनआरएनए, एनसीसी यूएई, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूएई, नेपाली समाज यूएई, साथै सृजना वाचन डबली, सगरमाथा साहित्य प्रतिष्ठान, गजल प्रतिष्ठान लगायतका साहित्यिक संस्थाका प्रतिनिधिहरू, विभिन्न पेशा तथा व्यवसायसँग आबद्ध साहित्यिक श्रष्टाहरू गरी करिब १२५ जनाको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै महामहिम राजदूत तेजबहादुर क्षेत्रीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा तथा साहित्यमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले नेपाली भाषा संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा प्रवासी नेपाली साहित्यको भूमिका महत्वपूर्ण र अविस्मरणीय रहेको उल्लेख गर्दै विदेशमा बसेर पनि नेपाली भाषा र साहित्यमा सक्रिय श्रष्टाहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रमका क्रममा यूएईमा क्रियाशील नेपाली साहित्यकारहरूद्वारा लिखित करिब १० वटा कृतिको विमोचन गरिएको थियो। साथै, बालबालिकासहित करिब ४५ जना सर्जकहरूले आफ्ना रचना वाचन गरेका थिए। रचना प्रस्तुत गर्ने सबै सर्जकहरूलाई तनहुँ सेवा समाज यूएईको तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो।

तनहुँ सेवा समाज यूएईका संयोजक टक गुरुङले राजदूतावाससँगको सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा पनि नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यूएईस्थित नेपाली डायस्पोराले भाषा र साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको पनि प्रशंसा गर्नुभयो।

कार्यक्रमको पहिलो चरण राजदूतावासका प्रथम सचिव भूपेन्द्र घिमिरेले सञ्चालन गर्दै स्वागत मन्तव्यका क्रममा भानुभक्तको भाषिक तथा साहित्यिक योगदान र नेपाली साहित्यको विकासक्रमबारे संक्षिप्त प्रकाश पार्नुभएको थियो। कार्यक्रमको दोस्रो चरण तनहुँ सेवा समाजका तर्फबाट भवानी नेपालले सञ्चालन गर्नुभएको थियो।

धेरै पढिएको