४ श्रावण २०८३, सोमबार
Follow Us

एनआरएनए अमेरिकाको १५ औँ वार्षिक साधारण सभामा बृहत एकता घोषणा

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०८३, आईतवार २१:१२

नारायण भण्डारी । विगत एक वर्षदेखि दुई फरक समूहमा रहेका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले आफ्नो १५औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा एकता भएको औपचारिक घोषणा गरेको छ।

टेक्सासको राजधानी सहर अस्टिनसँगै रहेको राउन्ड रक सहरको होलिडे इनमा शनिबारदेखि सुरु भएको साधारण सभामा दुवै पक्षका अध्यक्षहरू सतेन्द्र साह र विकास उप्रेतीले एकसाथ पानसमा बत्ती बालेर उद्घाटन गर्दै १५औँ साधारण सभा एकतासभा भएको औपचारिक सन्देश दिए। एकताका लागि केही दिनदेखि गहन छलफल गरी १६ बुँदे सहमति गरिएको छ। शनिबार बिहान दुवै पक्षका पदाधिकारीहरूबीच पुनः जुममा छलफल भएको थियो।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संस्थाका पूर्व अध्यक्ष अर्जुन बन्जाडेले मन्तव्य राख्दै संस्थाभित्रका असहमति र द्वन्द्वलाई संवादबाट समाधान गर्नुपर्नेमा जोड दिए। साधारण सभाले विधानमा रहेका समस्यालाई छलफलबाट सुधार गर्दै अघि लैजान सके कार्यक्रमले राम्रो सन्देश दिने बताए। त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि सुनिल साहले संसारभर छरिएर रहेका ८० लाख नेपालीको संस्थाले देश विकासमा भूमिका खेल्नुपर्नेमा जोड दिए।

कार्यक्रममा आइसीसीका उपाध्यक्ष रविन बज्राचार्य, उपमहासचिव मोहमत मोक्तावा, सचिव देविका केसी, एनसीसी अमेरिकाका पूर्व अध्यक्ष सिपी पौडेल, मेरिल्याण्ड राज्यसभाका डेमोक्र्याटिक उम्मेदवार शतिश चापागाईं, एनएसटीका अध्यक्ष विजय भूषाल, जिएएनएसका अध्यक्ष पदम ठकुराठी, जनजाति महासङ्घका सभापति एपि शेर्पा लामा, एनसीसी न्युयोर्क च्याप्टरका अध्यक्ष वासु लामिछाने, एनसीसीका उपाध्यक्ष प्रदीप चौलागाईं र अर्का उपाध्यक्ष सुरेन्द्र लौडारीले सम्बोधन गरेका थिए। कार्यक्रम संस्थाका महासचिव मोहन न्यौपानेले सञ्चालन गरेका थिए।

कार्यक्रमका एकजना सभापति विकाश उप्रेतीले आईसिसिको विरोध गर्नेहरुले एनसिसि संस्था बिगारेको बताए। उनले भने “संस्थामा हिजो नेतृत्व गर्ने साथीहरुले बुझ्न नसकेको हो” । संस्थामा पदिय जिम्मेवारीमा बस्ने साथीहरु अनुसासन बाहिर जॅादा एनसिसि भित्र गुटबन्दी बढेको उनको भनाई छ । दुई संस्थामा एकता हुनुमा १६ बुदे सहमतिको भुमिका रहेको बताउदै उनले प्रत्येक हुदाको पालना हुनु पर्नेमा जोडदिए । त्यसै गरि आफ्नो धारणा राख्दै अर्का सभापति सतेन्द्र साहले एकताका बुदा पालन गराउन विधान संसोधन गर्नु पर्ने भनाई राखे । उनले भने “विधान संसोधन गरेर सहमतिका बुदा पालन गर्न गराउन सहयोग गर्नुहोस” । आइतबार बन्द सत्रको कार्यक्रम रहेको छ।

धेरै पढिएको