५ श्रावण २०८३, मंगलवार
Follow Us

एनआरएनए अमेरिकाको वार्षिक साधारणसभा निष्कर्ष विहिन

नेपालब्रिटेन संवाददाता
५ श्रावण २०८३, मंगलवार ०५:१३

नारायण भण्डारी । अस्टिन/ टेक्सास । अमेरिकामा पछिल्लो एक वर्षदेखि दुई समूहमा विभाजन भएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको १५औँ वार्षिक साधारण सभा एकताको घोषणासहित सुरु भए पनि निष्कर्षविना समापन भएको छ।

गत जुलाई १८ गते शनिबार दुई छुट्टाछुट्टै समूहको नेतृत्व गरिरहेका अध्यक्षद्वय सत्येन्द्र साह र विकास उप्रेतीले एकताको सन्देश दिँदै टेक्सासको अस्टिनमा सुरु भएको १५औँ साधारण सभाको संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए।

उद्घाटन कार्यक्रममा सहभागी हुनुअघि दुई पक्षले लामो छलफल गरेका थिए। छलफलपछि जुलाई १६ गते आआफ्ना मागहरू समावेश गर्दै १६ बुँदे सहमतिको प्रस्ताव तयार गरी दुवै अध्यक्षहरू र साक्षीको हस्ताक्षरसहित सार्वजनिक गरिएको थियो। उक्त सहमति प्रस्तावको ११ नम्बर बुँदामा दुई अध्यक्षहरूले हस्ताक्षर गरेपछि दुवै कार्यसमितिको बैठक बसेर अनुमोदन गरी वैधानिकताका लागि विधान समितिमार्फत साधारण सभामा लैजाने उल्लेख छ।

बन्द सत्रमा सहमति जनाइएको भनिएको सोही प्रस्तावअनुसार जुलाई १९ गते आइतबार साधारण सभाको बन्द सत्रमा एकताका लागि भएका सहमतिहरू छलफलका लागि अघि बढाइएको थियो। बन्द सत्रको हलमा सहमतिका १६ बुँदामध्ये १४ बुँदामा चर्को विरोध भयो। सहमतिको चर्को विरोध हुने आशंकाले नै हुन सक्छ, १२ नम्बर बुँदामा कुनै पनि कार्यसमिति सदस्यले सहमतिको अवज्ञा, उल्लङ्घन वा कार्यान्वयनमा अवरोध सिर्जना गरे संयुक्त कार्यसमितिको निर्णयअनुसार त्यस्तो सदस्यको पद स्वतः खारेज हुने उल्लेख गरिएको छ।

बन्द सत्रमा सहमति जनाइएको बुँदा नम्बर १ मा दुवै समितिले एकअर्काको अस्तित्व र वैधानिकता पूर्ण रूपमा स्वीकार गर्ने तथा विरोधाभासी अभिव्यक्ति, गतिविधि वा प्रचारप्रसार नगर्ने उल्लेख छ। दुई कार्यसमितिले एकताका लागि तयार गरेका प्रस्ताव अस्वीकार गरिएपछि मञ्चमा रहेका दुवै अध्यक्षहरू निरुत्तर भएका थिए। निष्कर्षविना सभा टुंगिएपछि एकताका लागि भएका प्रयासहरू असफल भएको आशंका बढेर गएको छ । यस विषयमा यो समाचार तयार गर्दासम्म कुनै समितिको तर्फबाट कुनै धारणा सार्वजनिक भएको छैन।यस बिषयमा जानकारी माग्न सम्पर्क गर्दा उपाध्यक्ष सुरेन्द्र लौडारी छिट्टै प्रेस विज्ञप्ति सार्वजनिक गरिने जानकारी दिए ।

धेरै पढिएको