७ श्रावण २०८३, बिहीबार
Follow Us

बागमतीमा बानियाँ सरकार अल्पमतमा

नेपालब्रिटेन संवाददाता
७ श्रावण २०८३, बिहीबार ०५:५१

हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का छ जना मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा बुझाएसँगै नेपाली कांग्रेससँगको सत्ता सहकार्य टुटेको छ । राजीनामासँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा परेको छ ।

मुख्यमन्त्री कार्यालयको सचिवालयमा बुधबार राजीनामापत्र दर्ता गर्दै एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाएका हुन् । बागमती सरकारमा एमालेबाट कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसूदन पौडेल; भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा; उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा यातायात विषय हेर्ने मन्त्री जयराम थापा, कृषि मन्त्रालयमा वन तथा वातावरण विषय हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य विषय हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री विन्दु श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सम्बोधन गर्दै पठाउनुभएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमालेको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागु हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख छ ।

विसं २०८१ साउन पहिलो साता आलोपालोमा प्रदेश सरकारको नेतृत्व गर्ने सहमतिसहित कांग्रेस र एमालेले सत्ता सहयात्रा सुरु गरेका थिए । २०८१ साउनमा एमालेको समर्थनमा कांग्रेस संसदीय दलका तत्कालीन नेता बहादुरसिंह लामा तामाङ मुख्यमन्त्री बन्नुभएको थियो । कांग्रेसभित्रकै आन्तरिक द्वन्द्वका कारण कांग्रेसको संसदीय दलको नेता परिवर्तन भएसँगै इन्द्रबहादुर बानियाँ २०८२ साल साउन २० गते छैटौँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

धेरै पढिएको