७ श्रावण २०८३, बिहीबार
Follow Us

बालक मृत्यु प्रकरणमा नाबालिका नियन्त्रणमा

नेपालब्रिटेन संवाददाता
७ श्रावण २०८३, बिहीबार ०५:५६

बर्दिबास । महोत्तरीको सीमावर्ती सम्सी गाउँपालिका–५ पोखरभिण्डामा तीन वर्षीय बालक मनिकेश कुमार यादवको मृत्यु प्रकरणमा प्रहरीले एक नाबालिकालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रहरीले पक्राउ परेकी बालिकाको नाम सार्वजनिक गरेको छैन।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गत जेठ २२ गते साँझ करिब ५ बजे घरबाहिर खेलिरहेका बेला बालक मनिकेश बेपत्ता भएका थिए । खोजतलासका क्रममा जेठ २४ गते साँझ करिब ५ बजे उनको शव घर नजिकैको पानी पोखरीमा बोराभित्र राखिएको अवस्थामा फेला परेको थियो।

प्रहरीका अनुसार शव फेला परेपछि बालकले लगाएको चाँदीको बाला हराएको घटनाले थप अनुसन्धान गर्नुपर्ने अवस्था सिर्जना भएको थियो।

घटनाको सूक्ष्म अनुसन्धानका क्रममा प्रहरीले एक १५ वर्षीया बालिकामाथि शंका गरी साउन ५ गते कार्यालयमा ल्याएर प्रारम्भिक सोधपुछ गरेको थियो। सो क्रममा बालिकाले घटनाबारे स्वीकारोक्ति दिएको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार बालिकाले दिएको बयानमा आफू साइकलमा करिब ३० किलो मल बोकेर खेततर्फ जाँदै गर्दा मुख्य सडकबाट भोला बाबा मन्दिरतर्फ जाने गल्लीको प्रवेश बिन्दुमा विपरीत दिशाबाट दौडिँदै आएका मनिकेश साइकलअगाडि आइपुगेको उल्लेख छ। साइकलमा ब्रेक नभएको र पछाडि मलको भारी रहेकाले नियन्त्रण गुमेर साइकलले बालकलाई ठक्कर दिएको तथा साइकलका दुवै चक्का बालकको छातीमाथिबाट गुज्रिएको बयान दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनापछि बालकको श्वासप्रश्वास जाँच गर्दा मृत्यु भएको थाहा पाएपछि घटना लुकाउने उद्देश्यले नजिकै रहेको शिवम् सिमेन्टको बोरामा शव राखी करिब ३०० मिटर टाढाको पानी पोखरीमा लगेर फालेको र बालकले लगाएको चाँदीका दुईवटा बाला निकालेर लुकाएको बयान बालिकाले दिएकी छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी पञ्चलाल गोलेका अनुसार अनुसन्धानका क्रममा हराएका दशी प्रमाण तथा चाँदीका बाला नाबालिकाले लुकाएको स्थानबाट कानुनबमोजिम बरामद गरिएको छ।

नाबालिकाविरुद्ध महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

धेरै पढिएको