काठमाडौं । २००७ को क्रान्तिदेखि २०६२/६३ को जनआन्दोलन सम्म वीपी कोईराला र गिरिजाप्रसाद कोईरालाको वैचारिक तथा सांगठनिक जगमा उभिएको नेपाली काँग्रेस अहिले आफ्नो इतिहासकै गम्भीर मोडमा पुगेको छ ।
आगामी मङ्सिरमा १५ औँ केन्द्रिय महाधिवेशन गर्ने निर्णय भएपनि विशेष महाधिवेशनपछि चुलिएको आन्तरिक द्वन्द्व ६ महिना बित्दासमेत टुंगोमा पुग्न सकेको छैन ।
दोस्रो विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगनकुमार थापा र संस्थापन इतरपक्ष (खड्का÷कोईराला समूह) बीचको दूरी बढ्दै जाँदा पार्टी औपचारिक विभाजनतर्फ उन्मुख भएको सन्देश प्रवाह भएको छ ।
विशेष महाधिवेशनपछि संस्थापन इतरपक्ष सर्वोच्च अदालत र निर्वाचन आयोगसम्म पुग्दा पनि मागले सार्थकता नपाएपछि अहिले राष्ट्रिय भेलामार्फत नयाँ दल गठनको विकल्पसम्म पुग्ने रणनीतिमा छ ।
पार्टी एकताका लागि निरन्तर प्रयास र लचकता अपनाउँदा पनि संस्थापन पक्षबाट कुनै सार्थक पहल नभएको इतर पक्षको ठहर छ । राजनीतिक विश्लेषकहरूकाअनुसार विशेष महाधिवेशनको जनादेश र रूपान्तरणको नारा दिएर नेतृत्वमा आएका सभापति थापाका लागि १५ औँ महाधिवेशनअघिको यो समय राजनीतिक परिपक्वता र अभिभावकत्व प्रदर्शन गर्ने मुख्य परीक्षा बनेको छ ।
नेतृत्वको कार्यशैली र इतरपक्षको असन्तुष्टि
विवादको मूल केन्द्रमा विशेष महाधिवेशनपछिको नेतृत्वको कार्यशैली, अद्यावधिक प्रक्रिया र १५ औँ महाधिवेशनको कार्यदिशा रहेको छ । संस्थापन इतरपक्षले सभापति थापाले पार्टीका अग्रज नेताहरूलाई पाखा लगाएर एकलौटी ढङ्गले पार्टी सञ्चालन गर्न खोजेको आरोप लगाउँदै आएको छ ।
पार्टीका कार्यकर्ता महेन्द्रकुमारी लिम्बू सभापति थापाले वीपीको सिद्धान्त र इतिहास बोकेका नेताहरूलाई पाखा लगाएर जेन–जी पुस्ताको पछाडि मात्र लागेको बताउँछिन् । २००७ सालमा ब्रिटिस आर्मी छोडेर वीपीसँगै आन्दोलनमा होमिएका योद्धाकी सन्तान लिम्बूले काँग्रेस कसैको पेवा वा निजी सम्पती नभएको टिप्पणी गरिन् ।
‘अग्रज नेताहरूलाई त्यसै पाखा लगाएर जबरजस्ती बल छ भन्दैमा हुन्छ ? विशेष महाधिवेशनमा ल्याएर नेताहरूलाई सम्मान गर्नुपथ्र्याे’ उनले भनिन् ‘हामीले दुवै पक्षलाई मिल्न भनेका छौँ, तर मिलाउने मुख्य दायित्व विशेष महाधिवेशनबाट आउनुभएका पार्टी सभापति गगन थापाकै हो । १५ औँ महाधिवेशनका लागि ७ सय तिरेर बनेका कार्यकर्तालाई मिलाएर र नेताहरूलाई सम्मान गरेर लैजाने काम उहाँकै हो ।’
संवादहीनता र नेतृत्वमाथि दोषारोपण
पूर्वमहाधिवेशन प्रतिनिधि बलराम खतिवडाकाअनुसार संस्थापन इतरपक्ष एकताका लागि हदैसम्म लचिलो बन्दा पनि वर्तमान नेतृत्व संवादबाट भागेको छ । संस्थापक नेताहरू शेरबहादुर देउवा, शेखर कोईराला, शशांक कोईरालासहितका शिर्ष नेताहरू पार्टीलाई एक बनाएर लैजाने पक्षमा रहे पनि सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले बेवास्ता गरेको उनको आरोप छ ।
“हामीले नियमित महाधिवेशन पक्षधरका मान्छेले पार्टी मिल्नुपर्छ भनेर बारम्बार संवादका लागि आग्रह ग¥यौ, मिलाउने काम त नेतृत्वको हो । उहाँहरू संवादबाट भागेर एकलौटी तरिकाले पार्टीलाई फुटतर्फ लैजाँदै हुनुहुन्छ” खतिवडाले भने “अझै पनि फुटिसकेको छैन, तर विभाजन भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सभापतिले लिनुपर्छ ।”
युवा जोश र पुराना पुस्ताको अनुभवको प्रश्न
विशेष महाधिवेशनपछि काँग्रेसभित्र युवा पुस्ता र पुराना पुस्ताबीच वैचारिक दूरी समेत बढेको छ । वागमती प्रदेश सदस्य कल्पना खड्का युवाको उत्तेजना, आक्रोश र आवेगले मात्रै पार्टी चल्न नसक्ने तर्क गर्छिन् ।
“हिजो महामन्त्री र सभापति बनाउन हामी सबैले गगन थापालाई नै भोट दिएका हौँ । तर युवाको नाममा पुराना पुस्तालाई बाहेक गरेर जान मिल्दैन” उनले भनिन् “नेपालको जनसङ्ख्यामा युवा मात्रै छैनन् काँग्रेस भनेको युवाको जोस र पुराना पुस्ताको अनुभवको समावेशी रूप हो ।”
अर्का नेता एवं काठमाडौंका पूर्व जिल्ला सभापति भीमसेनदास प्रधान भने गगन थापाले पहल गरेर पार्टी मिलाए उहाँ नै सबैको सर्वमान्य नेता बन्ने बताउँछन् । आगामी स्थानीय निर्वाचनमा पहिलो पार्टी बन्ने सम्भावना रहे पनि विभाजनले ठूलो क्षति पु¥याउने उनको विश्लेषण छ ।
“गगनजीकै पहलबाट पार्टी मिलाउनुपर्छ, पार्टी मिलाउँदा सबभन्दा पहिला फाइदा गगन थापालाई नै हुन्छ । उहाँ सबैको नेता हुनुहुनेछ, नत्र उहाँ विशेष महाधिवेशनको मात्र नेता हुनुहुनेछ” उनले भने “हामी मिलेर नगए नेपाली काँग्रेसको हालत भारतको काँग्रेस जस्तै हुनेछ ।”
वीपीको विरासत र राष्ट्रिय स्थिरता
पार्टी कार्यकर्ताहरू यमुना खड्का विश्वकर्मा र बिन्दादेवी अर्याल काँग्रेस फुटे देशमा राजनीतिक अस्थिरता सिर्जना हुने बताउँछन् । ८० वर्षको उमेरमा पनि गिरिजाप्रसाद कोईरालाले २०५२ देखि २०६२/६३ को आन्दोलनलाई अवतरण गराएको प्रसङ्ग उल्लेख गर्दै अर्यालले उमेर भन्दा पनि नेतृत्वको क्षमता र विचार मुख्य हुने बताइन् ।
“काम गर्न उमेरले छेक्दैन । १५ औँ महाधिवेशनमा दुवै पक्ष मिलेर गए मात्रै राम्रो फल फल्छ र काँग्रेस बन्छ” अर्यालको भनाइ छ । पार्टीभित्र बढ्दो ध्रुविकरण र तल्लो तहसम्म फैलिएको असन्तुष्टिलाई नियाल्दा नेपाली काँग्रेस इतिहासकै कठिन मोडमा पुगेको देखिन्छ । एकातिर १५ औँ महाधिवेशनमार्फत पार्टीलाई नयाँ गति दिने चुनौती छ भने अर्कोतिर ऐतिहासिक विरासत बोकेको पार्टीलाई विखण्डनबाट जोगाउने दायित्व छ ।