८ श्रावण २०८३, शुक्रबार
Follow Us

‘गौँथली’ को प्रतीक्षामा बेलायतका दर्शक !

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०८३, शुक्रबार १७:०६

लण्डन । साउन १ गतेदेखि नेपालभर प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ ले पहिलो सप्ताहन्तमै उत्साहजनक प्रतिक्रिया पाएपछि बेलायतस्थित नेपाली समुदायले पनि चलचित्र हेर्ने तीव्र चाहना व्यक्त गरेका छन्।

बेलायतस्थित व्यवसायी कृष्ण भट्टले नेपाली चलचित्रहरू हेर्न लायक निकै कम हुने बताउँदै ‘गौँथली’ को कथा साँच्चै बलियो, यथार्थपरक र मुटु छुने खालको भएकोले लण्डनमै बसेर हेर्ने इच्छा रहेको बताए। वेलायतमा कार्यरत निर्देशक डा. कपिल रिजालले निर्देशन गरेको ‘गौँथली’ मा समाजमा लुकेको तितो सत्य र मौन पीडालाई इमानदार ढंगले पर्दामा उतारिएको भन्दै दर्शकहरूले प्रशंसा गरेका छन्।

भट्टले ‘गौँथली’ बेलायतस्थित सिनेमा घरहरूमा पनि हेर्न पाइनेमा आशा व्यक्त गर्दै भने, “मन छुने र धेरै बेरसम्म सोच्न बाध्य बनाउने यस्ता कथाहरूले नै साँचो अर्थमा सिनेमालाई कला बनाउँछन्।”

उनले निर्माण पक्षलाई छिट्टै बेलायतका दर्शकमाझ चलचित्र प्रदर्शनको आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका छन्।

‘गौँथली’ केवल एउटा चलचित्र मात्र नभई निर्देशक डा. रिजालका लागि पुस्तौंदेखि बग्दै आएको कला, साहित्य र संस्कृतिप्रतिको मोहको निरन्तरताको रूपमा पनि हेरिएको छ।

निर्देशक डा. रिजालका अनुसार कला र साहित्यप्रतिको आकर्षण आफूभित्र एकाएक पैदा भएको होइन। उनका हजुरबुवा साहित्यकार हुनु, पिता वरिष्ठ चिकित्सक डा. भोला रिजाल साहित्य, संगीत र चलचित्रमा सक्रिय रहनु तथा घरमै सिर्जनात्मक वातावरण हुनुजस्ता कारणहरूले बाल्यकालदेखि नै उनलाई अभिनय र कथाप्रति आकर्षित बनाएको हो।

रेडिङस्थित समाजसेवी विश्वआदर्श पण्डितले सामाजिक सञ्जाल फेसबुकमार्फत डा. कपिल रिजालको पहिलो चलचित्र ‘ह्यारीकी प्यारी’ हेरेको स्मरण गर्दै यसपटक ‘गौँथली’ पनि हेर्ने इच्छा रहेको बताए। उनले बेलायतका सिने हलमा प्रदर्शन सुरु भएपछि सँगै हेर्ने योजना बनाएको उल्लेख गर्दै भने, “नेपालमा अहिले प्रदर्शन भइरहेको चलचित्र उत्कृष्ट र मनोरञ्जनदायी छ। एउटा टिकटले नेपाली कथा, कला र स्रष्टालाई ऊर्जा दिनेछ। गर्वका साथ हेरौँ ‘गौँथली’।”

नेपालमा ‘गौँथली’ ले प्रदर्शनको पहिलो सातामा ३ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै उत्साहजनक व्यापार गरेको छ।

अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा रहेको यो चलचित्र शुक्रबारदेखि प्रदर्शनमा आएको हो। चलचित्रमा अटिजम भएको व्यक्तिको भूमिका अरुणले निर्वाह गरेका छन् भने सिम्रनले बुहारीको भूमिका निभाएकी छन्।

चलचित्रमा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा र सन्जोग रसाइलीलगायतका कलाकारहरूको अभिनय रहेको छ।

डा. भोला रिजालको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।

निर्माण पक्षका अनुसार ‘गौँथली’ लाई बेलायतका हलहरूमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको छ। यसका लागि चलचित्रलाई बेलायतमा प्रदर्शन गर्ने उद्देश्यले सेन्सर बोर्डमा पठाइएको जनाइएको छ।


धेरै पढिएको