लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एसिया–प्यासिफिक क्षेत्रीय महिला संयोजक श्रीमती संगीता अधिकारी सुबेदीमाथि जापानमा आयोजित नेपाल फेस्टिवल कार्यक्रमका क्रममा सार्वजनिक स्थलमा भएको अभद्र व्यवहारप्रति गम्भीर दुःख व्यक्त गरेको छ।
संघका प्रवक्ता सोम सापकोटाद्वारा आइतबार जारी विज्ञप्तिमा महिलाको सम्मान, सुरक्षा र मर्यादा प्रत्येक सभ्य समाजका आधारभूत स्तम्भ भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा कुनै पनि महिलामाथि हुने अभद्र व्यवहार, हिंसा, दुर्व्यवहार, अपमान तथा अमर्यादित गतिविधिप्रति एनआरएनएको शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारिएको छ।
घटनाको सत्यतथ्य सार्वजनिक गरी न्याय सुनिश्चित गर्न निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गर्न संघले सम्बन्धित निकायसँग आग्रह गरेको छ। साथै, दोषी प्रमाणित भए प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्नुपर्नेमा पनि जोड दिइएको छ।
एनआरएनएले विदेशमा रहेका नेपालीहरूले गर्ने व्यवहार, आचरण र अभिव्यक्तिले व्यक्तिगत पहिचानसँगै नेपालको छवि, प्रतिष्ठा र सम्पूर्ण नेपाली समुदायको सम्मान प्रतिनिधित्व गर्ने उल्लेख गरेको छ। त्यसैले सबैलाई सभ्य, मर्यादित र जिम्मेवार व्यवहार प्रदर्शन गर्न तथा आपसी सम्मान, सहिष्णुता र सद्भाव कायम राख्न संघले आह्वान गरेको छ।
विज्ञप्तिमा सम्पूर्ण नेपाली समुदायलाई संयमित र जिम्मेवार अभिव्यक्तिको संस्कृतिलाई आत्मसात् गर्दै सबैको सम्मान, सुरक्षा र मर्यादाप्रति प्रतिबद्ध रहन आग्रह गरिएको छ।