काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको हराएको शिलालेख खोजेर पुनर्स्थापना गरिने बताएका छन् ।
नागढुङ्गा सुरुङमार्गको औपचारिक उद्घाटन गर्न पुगेका मन्त्री लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल कात्तिक ४ गते गरेको शिलान्यासको शिलालेख पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । ओलीको नाम अंकित शिलालेख तोडफोड गरी गायब बनाइएको भन्दै लामो समयदेखि विभिन्न तहबाट विरोध हुँदै आएको थियो ।
उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले अब नेपाल सुरुङमार्ग निर्माणको नयाँ चरणमा प्रवेश गरेको बताए ।
उनले नागढुङ्गा सुरुङमार्गले देशलाई महत्त्वपूर्ण अनुभव दिएको उल्लेख गर्दै आगामी दिनमा देशका विभिन्न स्थानमा यस्ता सुरुङमार्ग निर्माण गरिने बताए । ‘अब देशैभरि यस्ता टनेल बन्छन् । यो टनेलले धेरै कुरा सिकायो, हामी टनेल युगमा प्रवेश गरेका छौं,’ मन्त्री लम्सालले भने ।